प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारलाई बैंक खाता खोल्न ढिलाइ नगर्न आग्रह

शुक्रबार, ८ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारहरूलाई बैंक खाता खोल्ने कार्यमा ढिलाइ नगर्न  निर्देशन दिएको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन प्रचारप्रसारसम्बन्धी सम्पूर्ण खर्च अनिवार्य रूपमा छुट्टै बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी उम्मेदवारहरूलाई तत्काल खाता खोल्न सचेत गराएको हो।

आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले सार्वजनिक बिदाका कारण केही उम्मेदवारलाई खाता खोल्न असहज भएको हुन सक्ने उल्लेख गर्दै अब यसलाई थप ढिलाइ नगर्न आग्रह गरिन्। उनले उम्मेदवारलाई सहज सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूसँग पनि आयोगले समन्वय गरिसकेको जानकारी दिइन्।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन खर्च पारदर्शी र नियमनयोग्य बनाउन प्रत्येक उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने र सबै खर्च सोही खाताबाट गर्नुपर्ने व्यवस्था छ। आयोगले उक्त प्रावधानको कडाइका साथ पालना गर्न सबै उम्मेदवारलाई पुनः स्मरण गराएको छ।

सुझावित समाचार