२५ औँ संस्करणको आहा ! रारा पोखरा गोल्ड कप जारी जाउलाखेल फाइनलमा

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

विपक्षी टोलीका खेलाडीले गरेको आत्मघाती गोलको मद्दतले जारी आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले फाइनलमा स्थान बनाएको छ। सहारा क्लब पोखराको आयोजना एवं हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लबलाई ०–१ गोल अन्तरले पराजित गर्दै जाउलाखेलले फाइनलमा स्थान बनाएको हो। फाइनल पुगेको जाउलाखेलले उपाधिका लागि ९ गते शनिबार हुने फाइनल खेलमा आयोजक सहारा क्लबसँगको भेट पक्का गरेको हो।

खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा आभाका खेलाडीले गरेको आत्मघाती गोल नै जाउलाखेलका लागि फाइनलको यात्रा तय गर्न पर्र्याप्त बन्यो। खेलको ५२औँ मिनेटमा आभाका कुसान गानिजानोभले गरेकोआत्माघाती गोल नै टोलीको हारको कारण बन्यो।

जाउलाखेलका धर्बेन्द्र कुँवरले डी बक्सनजिकैबाट साथीलाई दिएको क्रसबललाई क्लियर गर्ने क्रममा कुसनाको छातीमा लागेर बल सिधै पोस्ट चुम्न पुग्दा जाउलाखेलले खेलमा सुरुवाती अग्रता लिएको थियो। सोही अग्रता खेलको अन्तिमसम्म रहँदा १४ वर्षपछि जाउलाखेलले फाइनलको यात्रासमेत तय गर्दा आभा भने घर फर्कियो।

खेलको ६५औँ मिनेटमा जाउलाखेलका युवराज ढकालले फल गरेपछि रेफ्रीले रातो कार्ड देखाएपछि उनी मैदान बाहिरिन परेपछि जाउलाखेल १० खेलाडीमा सीमित हुन पुगेको थियो। २५ मिनेट १० खेलाडीमा सीमित जाउलाखेलले अग्रता जोगाउँदै आफूहरूलाई उपाधिनजिक पुर्याएको हो।

जाउलाखेलले यसअघि प्रि-क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई २–० र क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई ०–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो। बाई पाएर क्वाटरफाइनल प्रवेश गरेको आभाले प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो। 

तीन विदेशीसहित १२ टोली सहभागी प्रतियोगिताको विजेताले १४ लाख एक हजार र उपविजेताले सात लाख एक हजार नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। यसैगरी, सर्वोकृष्ट खेलाडीले स्कुटर पाउँदा विधागत रूपमा उत्कृष्ट हुने सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइगर, प्रशिक्षकसँगै उदीयमान खेलाडी र अनुशासित टिमले जनही २५ हजार नगदसँगै ट्रफ्री र पुरस्कार पाउनेछन्।

यसैगरी, हरेक खेलका म्यान अफ द म्याचले १० हजार र ट्रफी पाउँदा, हरेक खेलका भाग्यशाली दर्शकले पाँच हजार र हरेक म्याचको फ्यान अफ द म्याचले दुई हजार पाँच सय नगद पाउनेछन्। 
 

सुझावित समाचार