बाघको त्रासपछि बालबालिकालाई सेनाको सुरक्षा

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

बाँके राष्ट्रिय निकुञ्जबाट बस्तीमा बाघको आतंक बढेपछि सल्यान कालीमाटी गाउँपालिकाका बालबालिकालाई विद्यालय आवतजावतमा नेपाली सेनाले सुरक्षा दिन थालेको छ । बाघ बस्तीनजिकै देखिन थालेपछि विद्यालय जाने बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै सेनाले बिहान साँझ सुरक्षा दिँदै गन्तव्यसम्म पुर्याउन थालेको हो। 

नेपाली सेनाको टोलीले कालीमाटी गाउँपालिका–७ का स्वामीवास, हाउखोला, बाटुलेबाट नेपाल राष्ट्रिय मावि घुइँयाबारीमा अध्ययन गर्न जाने विद्यार्थीलाई बिहान विद्यालय जाँदा र बेलुकी फर्किंदा सुरक्षा दिँदै आएको जनाएको छ । 
तीनजनाको ज्यान लिने बाघ अहिले पनि बस्तीआसपास घुमिरहेकाले अभिभावकमा त्रास बढेको छ ।

करिब एक सयभन्दा बढी बालबालिका झन्डै एक महिनासम्म नियमित रूपमा विद्यालय जान नसकेको विद्यालयले जनाएको छ । वडा कार्यालयको आग्रहपछि सेनाले सुरक्षा दिन थालेसँगै अहिले विद्यार्थी नियमित रूपमा विद्यालय आउन थालेका छन्। 
कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले बिहान र बेलुकी सेनाले सुरक्षा दिन थालेपछि बालबालिकालाई ठुलो राहत मिलेको बताए । विद्यालय पुग्न जंगलछेउको बाटो हुँदै करिब डेढ घण्टा लाग्ने भएकाले अभिभावक चिन्तित रहेको उनले जानकारी दिए।

स्थानीय रातो बस्नेतले सेनाको सुरक्षा सुरु भएपछि अभिभावकलाई बालबालिका छाड्न र लिन जानुपर्ने बाध्यता हटेको जनाए। बाघको त्रासका कारण यसअघि आठ/दसजनाको समूह बनाएर मात्र हिँड्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

हात्ती दमार–घुइँयाबारी मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष डम्बर पुनले बर्दिया तथा बाँके निकुञ्ज क्षेत्रबाट आएका पाटेबाघका कारण स्थानीय त्रसित भएको बताए । बाघको आक्रमणबाट तीनजनाको ज्यान गइसकेको र पशुचौपायामा समेत क्षति पुगेको जानकारी दिए। दीर्घकालीन समाधानका लागि निकुञ्जले बाघको सख्या व्यवस्थापन गर्नुपर्ने तथा वन्यजन्तु बाहिरिनुका कारणबारे अध्ययन गरी कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो। 

गत पुस दोस्रो सातादेखि कालीमाटी गाउँपालिका–६, हात्तीढुंगा र वडा नं ७ पर्सेनीका दुईजना तथा कालीमाटी–सुर्खेत सीमा क्षेत्रमा एकजना गरी तीनजनाको ज्यान बाघको आक्रमणबाट गएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। 

सुझावित समाचार