बर्दियामा सामुदायिक वनमा लाग्ने डढेलो रोक्नका लागि सामुदायिक वनका उपभोक्तालाई सचेतनामूलक कार्यक्रम गरिएको छ । बर्दियाको मधुवन नगरपालिका– ४, ढोढरीमा रहेको रामजानकी सामुदायिक वनका उपभोक्तालाई वनमा लाग्ने डढेलो रोक्नका लागि सामुदायिक वनका उपभोक्तालाई सचेतनामूलक कार्यक्रम गरिएको हो ।
सम्बर्द्धन परियोजनाका पैरवी अधिकृत जयन जोशीले वन आगो लागेर हुने जैविक विविधताको विनाश हुन नदिन समुदायलाई सचेत गराउन कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने, ‘वनमा लाग्ने डढेलो रोकथाम र नियन्त्रणमा उपभोक्ताको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसका लागि उपभोक्ता समूहले वनमा अग्निरेखा निर्माण गर्ने, वनमा हुने अवैध गतिविधि रोक्ने र समुदायका नागरिकलाई सचेत गराउन आवश्यक रहेको छ । वनमा लाग्ने डढेलो रोक्न सामूहिक भूमिका हुने भएकोले समूहका उपभोक्ता मिलेर काम गर्न आवश्यक छ ।’
सामुदायिक वन उपभोक्ता महासंघका उपाध्यक्ष मोहम्मदकर खाँले वातावरण संरक्षण र हरियाली बनाउनका समुदायले खेलेको भूमिका विश्व समुदायमाझमा उदाहरणीय रहेको बताए । उनले भने, ‘देशमा २३ हजार सामुदायिक वन छन् । त्यसमा करिब एक लाख ५० हजार उपभोक्ता आबद्ध छन् । अन्य देशमा वन घट्दै गएको छ । तर, नेपालमा वन विस्तार हुँदै गएको छ । सामुदायिक वनको विस्तार भएसँगै वनमा हुने डढेलोको जोखिम पनि बढेको छ । त्यही भएर फेरि पनि सामुदायिक वन जोगाउने दायित्व उपभोक्ता समितिको नै हो । सामुदायिक वनमा हुने डढेलो रोक्न सबैले हातेमालो गर्नुपर्छ ।’
कार्यक्रममा भएको वक्तृत्वकला प्रतियोगितामा मधुवन नगरपालिका– १ मा रहेको त्रिभुवन माध्यमिक विद्यालय सूर्यपटुवाको छात्रा पार्वती आचार्य प्रथम भएकी छिन् । त्यसैगरी मधुवन नगरपालिका– ३, धनौरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी छात्रा सुस्मिता परियार द्वितीय भएकी छिन् भने ठाकुरबाबा– ९ मा रहेको जगदम्बा माध्यमिक विद्यालयका छात्र रोशन पुनमगर तृतीय भएका छन् ।
कार्यक्रम सम्बर्द्धन परियोजनाको आयोजना र रामजानकी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा गरिएको थियो । कार्यक्रममा भएको वक्तृत्वकला प्रतियोगितामा मधुवन नगरपालिकाका तीन र ठाकुरबाबा नगरपालिकाका दुईवटा गरी पाँचवटा विद्यालयको सहभागिता रहेको थियो ।