तटस्थ, इमानदार तथा प्रतिबद्ध भई आ–आफ्नो जिम्मेवारीमा खटिन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्देशन दिएका छन्। समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आसन्न निर्वाचनको समयमा देखापर्न सक्ने चुनौतीहरूको समयमै सूचना संकलन गरी सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न उनले निर्देशन दिएका हुन्।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा शुक्रबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा कार्कीले उच्च व्यावसायिकता प्रदर्शन गर्न भनेका हुन्।
आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई अन्य सुरक्षा निकाय एवं सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आ–आफ्नो क्षेत्रमा त्रुटिरहित तवरमा कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने एवं अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राखी भरपर्दो सुरक्षा संयन्त्र परिचालन गर्नुपर्ने उनको भनाइ छ ।
निर्वाचन प्रहरीको गुनासो सम्बोधन गर्दै उनीहरूप्रति गरिने आचरण, व्यवहारप्रति थप संवेदनशील भई निर्वाचन प्रहरीको प्रभावकारी परिचालनमा समेत विशेष ध्यान दिनुपर्ने बताउँदै निर्वाचनको समयमा थप मद्दतको रूपमा खटिएर आउने प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन तथा परिणाममुखी परिचालनमा केन्द्रित हुन उनले निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी महानिरीक्षक कार्कीले जुनसुकै निर्वाचन क्षेत्रमा हुन सक्ने अनपेक्षित घटनाहरूको सम्बोधनका लागि सूचना संकलन तथा विश्लेषण एवं पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने बताए। आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रहरीको बलियो उपस्थितिको साथै अन्य सुरक्षा निकायसँग समन्वय गरी संयुक्त परिचालनमा समेत थप क्रियाशील भई कार्य गर्नुपर्ने उनले बताए । सीमानाकामा हुन सक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ र हातहतियार बरामदमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ।
सो अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग समसामयिक विषयमा छलफल गरी प्रदेशअन्तर्गत शान्तिसुरक्षाको अवस्था एवं आसन्न निर्वाचनको तयारीलगायतका विषयवस्तुसम्बन्धी जानकारीसमेत लिएका थिए।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।