प्रचण्ड भन्छन्- विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एक हौँ

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखिएको संकट समाधानका लागि सबै राष्ट्रिय राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।

३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट भिडियो सन्देश जारी गर्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति सम्मान व्यक्त गरे। जनयुद्धको आधार इलाकाका रूपमा परिचित रुकुम पूर्वबाट सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै उनले ‘जेन–जेड आन्दोलन’ले मुलुकमा नयाँ परिस्थिति सिर्जना गरेको उल्लेख गरे।

विध्वंसपछि राष्ट्र अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उनले संकट समाधानका लागि सम्पूर्ण राष्ट्रिय शक्ति एक हुनुपर्ने बताए। ‘जेन–जेड आन्दोलनले मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको छ। विध्वंसले सिर्जना गरेको संकट समाधानका लागि सम्पूर्ण राष्ट्रिय राजनीतिक शक्ति एक हुनुपर्छ,’ प्रचण्डले भने, ‘निर्वाचनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरु गर्न पनि म हार्दिक अपिल गर्दछु।’

उनले सहिदका सपना पूरा गर्ने दायित्व सबैको रहेको उल्लेख गर्दै रुकुम, रोल्पाजस्ता केन्द्रीय आधार इलाकाले खेलेको भूमिकालाई पुनः देशभर स्थापित गर्नुपर्ने बताए। नयाँ समाजवादी अभियानलाई अगाडि बढाउने संकल्पसहित रुकुम आएको उनले बताए।

देशको परिस्थिति अहिले नयाँ बनेको उल्लेख गर्दै दाहालले ‘जेन–जेड आन्दोलन’ र त्यसपछिको विध्वंसले राष्ट्रलाई निकै अप्ठ्यारोमा पारेको बताए। यस्तो अवस्थामा जनयुद्ध दिवस मनाउनु एकातिर गर्व र अर्कोतर्फ ठुलो जिम्मेवारी भएको उनले बताए। रुकुम पूर्वको प्रत्यक्षतर्फको उम्मेदवारको हैसियतले पनि जनयुद्ध दिवस त्यहीँ मनाउन पाएको उनले उल्लेख गरे।

सुझावित समाचार