टाउकोमा पानी जमेका बिरामीको उपचारमा सहयोग गर्न अपिल

शुक्रबार, १ फागुन, २०८२
डिजिटल संस्करण

टाउकोमा पानी जम्ने समस्याले गम्भीर बिरामी परेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ३ बाम्राङका ३३ वर्षीय रामकुमार थापाको उपचारमा आर्थिक अभाव भएको छ ।

एकपटक शल्यक्रिया गराइसकेका थापाको पुन: अप्रेसन गर्नुपर्ने भएपछि खर्च अभाव भएको हो । शिक्षण अस्पताल काठमाडौंमा उपचार गराइरहेका थापाको टाउकोमा अप्रेसनपछि दुईवटा स्टिल प्लेट राखिएको छ ।

अप्रेसन गर्ने क्रममा राखिएका स्टिल प्लेट निकाल्न नमिल्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पहिलो अप्रेसन गरेको १९ महिना भएको बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भोग्दै आएका थापाका लागि यसअघि पनि चन्दा संकलन गरेरै अप्रेसन गरिएको स्थानीयले बताएका छन् ।

अप्रेसनपछि केही सुधार देखिए पनि करिब तीन महिनापछि शरीरको एकापट्टिको (देब्रे) हात र खुट्टा नचल्ने अवस्था छ । पछिल्लो समय हातका औँला चल्न छोडे पनि उठ्न–बस्न भने सक्ने अवस्थामा रहेको पीडित थापाले बताए ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ३, बाम्राङ वडा कार्यालयले रामकुमार थापाको उपचारका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण नागरिकलाई अनुरोध गरेको छ । वडा कार्यालय बाम्राङले आगामी २२ वैशाख ०८३ सम्म नेपाल बैंक लिमिटेडमा रहेको बिरामी रामकुमार थापाको खाता नम्बर ३११०१००७६२४६१९०००००१ मा आर्थिक सहयोग पठाउन सार्वजनिक रूपमै अपिल गरेको हो ।

See More On

सुझावित समाचार