धनकुटामा सुधार केन्द्रको छतबाट हाम फालेर १२ जना फरार

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

धनकुटा नगरपालिका– ५, कर्मीटारमा रहेको सुनौलो जीवन सुधार तथा उपचार केन्द्रमा उपचाररत १२ जना भागेका छन्।

एक वर्ष अगाडिदेखि सञ्चालनमा रहेको सुधार केन्द्रबाट १२ जना आज बिहान १० बजे फरार भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ज्ञानकुमार महतोले बताए। सुधार केन्द्रको छतबाट हाम फालेर उनीहरू भागेका थिए।

लागुऔषध तथा मादकपदार्थमा फसेका, मानसिक समस्या भएर औषधि सेवन गर्न नमान्नेहरूलाई सुधार केन्द्रमा राखेर हेरचाह र उपचार गरिँदै आएको छ। सुधार केन्द्रमा रहेका ३४ जनामध्ये १२ जना सुधार केन्द्रको छतमाथिबाट भागेर फरार भएका हुन्।

उनीहरू फरार रहेको जानकारी पाएसँगै प्रहरीले खोजी कार्य सुरु गरेको डिएसपी महतोले बताए।

सुझावित समाचार