मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा आफन्त गुमाएका परिवारका सदस्यहरूले उचित क्षतिपूर्तिको माग राख्दै पुष्पलाल राजमार्गअन्तर्गत मन्थली नगरपालिका– २ को मन्थलीस्थित आकासे पुलनजिकै र लिखु तामाकोशी गाउँपालिका– ७, तिल्पुङको हलेदेमा सडक अवरुद्ध गरेका छन्। बुधबार बिहानदेखि आन्दोलनमा उत्रिएका मृतकका आफन्तहरूले दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिहरूलाई तत्काल उचित क्षतिपूर्ति दिनुपर्ने, अरनिको यातायात समितिका जिम्मेवार पदाधिकारीहरू छलफलमा आउनुपर्नेजस्ता माग राखेर दुई स्थानमा सडक अवरुद्ध गरेका हुन्। उनीहरुले दुवै स्थानको सडकमा टिफरले सडक छेकेका छन् भने सोही स्थानमा ठुलो संख्यामा आफन्तहरू सडक छेकेर बसिराखेका छन् ।
मृतकका आफन्तहरूले अरनिको यातायात सेवा समितिका पदाधिकारीसँग छलफल नगरी मृतकको शव समेत पोस्टमार्टम गर्न दिएका छैनन्। आन्दोलनमा उत्रिएका उनीहरूले पहिला छलफलबाट उचित क्षतिपूर्तिको सहमतिपछि मात्रै मृतकको शव पोस्टमार्टम गर्न दिने अडान राखेका छन्। मृतक १२ जनाको शव हिजोदेखि मन्थली अस्पतालमा राखिएको छ।
मंगलबार काठमाडाैंबाट रामेछाप हुँदै ओखलढुंगाको पोल्थलीका लागि छुटेको बागमती प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात सेवा समितिको यात्रुबाहक बस मन्थली नगरपालिका– ६ मा पर्ने लिलौतीको भिरबाट खसेर तामाकोशी नदीमा पुगेको थियो । उक्त दुर्घटनामा परी १२ जना यात्रुको मृत्यु भएको थियो । उक्त दुर्घटनामा परेर आठजना घाइते भएका छन् भने अझै दुईजना बेपत्ता छन् ।
मुख्य सडक बन्द भएपछि दोलखाका केही गाउँपालिका र रामेछापको उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाबाट सदरमुकाम मन्थली हुँदै राजधानी र तराईका जिल्लाहरूमा जाने तथा जिल्लाका ग्रामीण भेगमा चल्ने सम्पूर्ण यातायातका साधनहरू ठप्प भएका छन्। अहिले अवरुद्ध सडक खुलाउन तिल्पुङको हल्देमा इलाका प्रहरी कार्यालय धोबीबाट प्रहरी निरीक्षकसहितका सुरक्षाकर्मीले पहल गरिरहेको र मन्थलीको सडक अवरुद्ध खुलाउन प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजन तिमिल्सिनाको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।