भ्रष्टाचार मुद्दामा पाँचजनालाई सफाइ, एकजना दोषी ठहर

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण

बोलपत्रको सूचना प्रकाशनसम्बन्धी भ्रष्टाचारको एक मुद्दामा विशेष अदालतले कर्मचारी तथा पत्रिकाका सम्पादकलाई सफाइको फैसला गरेको छ भने पत्रिकाका स्थानीय प्रतिनिधि भनिएका व्यक्तिलाई सजाय सुनाएको छ । मंगलबार विशेषले आठ महिनाअघि दायर मुद्दामा यस्तो फैसला गरेको हो ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा आंशिक ठहरको फैसला गर्दै विशेषले पत्रिकाका प्रतिनिधि ओमप्रकाश यादवलाई कैद र जरिवाना हुने सजाय सुनाएको हो ।  संक्षिप्त फैसलाअनुसार उनलाई ६ महिना कैद र बिगो रकम दुई लाख १२ हजार रुपैयाँभन्दा बढी रकम जरिवाना हुने ठहर भएको छ । साथै, बिगोका चार प्रतिशत रकम अपराधपीडित संरक्षण कोषमा भराउन भनिएको छ । 

विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावलको इजलासले यस्तो फैसला गरेको हो । रौतहटको फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा कृषकहरुका निम्ति स्प्रे टंकी खरिद गर्न बोलपत्र आह्वान गरेको थियो । यसका लागि ०७८ को १८ माघमा नगरपालिकाबाट पत्राचार भएको थियो भने २० गते राष्ट्रिय जनसवाल तथा २७ गते तराई पोस्टमा सूचना प्रकाशित भएको भनिएको थियो ।

अनुसन्धानका क्रममा ती सूचना केवल अभिलेख प्रयोजनका लागि एक–एक प्रति छापिएको र दुवैमा गरी दुई लाख १२ हजार रुपैयाँभन्दा बढी यादवले भुक्तानी लिएको भेटिएको थियो । यसमा उनी दोषी ठहर भएका हुन् भने नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव र सहलेखापाल नवीनकुमार यादव प्रतिवादी थिए । साथै जनसवाल पब्लिकेसनका सम्पादक रामजी बगाले र तराई पोस्टका प्रकाशक रुपेन्द्र पटेलविरुद्ध पनि मुद्दा दायर भएकोमा उनीहरूले सफाइ पाएका छन् । 

यादवले भने ती पत्रिकाका तर्फबाट आफूले नै रकम लिन भनी तोकिएको आधिकारिक व्यक्ति रहेको भन्दै भुक्तानी लिएका थिए भने पत्रिकाको प्रकाशित प्रतिसमेत बुझाएका थिए । अदालतमा ती दुवै पत्रिकाका तर्फबाट पेस कागजातमा छापका अक्षरसमेत फरक रहेको भेटिएपछि सजाय सुनाइएको हो । यादवले सीमित प्रतिस्पर्धा गराउने उद्देश्यले गलत पत्र बनाई आफूलाई लाभ पुर्याएको र एउटा मात्र सूचना प्रकाशित गराएको भन्दै अदालतले उनलाई दोषी पाएको हो । गत २६ जेठमा अख्तियारले विशेष अदालतमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

सुझावित समाचार