कार्गोबाट विदेश सामान पठाउँदा भन्सार र हुलाकका कर्मचारीलाई घुस

अधिकृतसहित तीन कर्मचारी पक्राउ, २३ वटा मोबाइल जफत

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण
कार्गोबाट विदेश सामान पठाउँदा भन्सार र हुलाकका कर्मचारीलाई घुस

गोश्वारा हुलाक कार्यालयको फाइल तस्बिर

कुरियरमार्फत विदेशमा सामान पठाउँदा घुस माग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीन कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरुलाई घुसरकमसहित पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र संचार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा बिभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाल छन्। 

 कुरियर कम्पनीमार्फत विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट उनीहरुलाई पक्राउ गरेको हो। 
 
पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुसबापत लिइसकेको १० हजार रकम आयोगले बरामद गरेको छ ।  उनको सोही घर्राबाट स्रोत नखुलेको ४० हजार तीन सय ५० र उनको साथबाट स्रोत नखुलेको  ९६ हजार ७० रुपैयाँ बरामद भएको आयोगले जनाएको छ। अधिकृत न्यौपानेकै मिलेमतोमा पुडासैनीले घुस लिदै आएका थिए। 

त्यस्तै, हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय पार्सल शाखा, डिल्लीबजार काठमाडौंमा कार्यरत नायव सुब्बा रिजालको साथबाट २० हजार घुसवापतको रकम बरामद भएको छ । थप स्रोत नखुलेको रकम समेत गरेर उनीसँग दुई लाख ६८ हजार ८ सय ४८ रुपैयाँ भेटिएको आयोगले जनाएको छ। कर्मचारी र घुस दिने व्यक्तिहरुको १८ वटा मोबाइल पनि जफत गरी अनुसन्धान थालिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए । हुलाकको कार्गोमा खुलेआम घुसखोरी मौलाएको गुनासोको आधारमा आयोगले निगरानी गरी प्रमाण संकलन गरेर आइतबार स्टिङ अप्रेसन गरेको हो। 
 

सुझावित समाचार