अमर नेम्वाङ लिम्बू स्मृति’ सम्मान कवि देवेन्द्र सक्तेन, निबन्धकार सापकोटा र याक्थुङ्बालाई

आइतबार, १९ माघ, २०८२
डिजिटल संस्करण

 ‘अमर नेम्वाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार’ यस वर्ष कवि देवेन्द्र सक्तेन राई, निबन्धकार दीपक सापकोटा र साहित्यकार मलिसा याक्थुङ्बा लिम्बूलाई प्रदान गरिने भएको छ।

नेम्वाङ परिवारका सदस्यहरूले स्थापना गरेको अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले माघ २६ गते स्व. अमर नेम्वाङको सातौँ स्मृति दिवसका अवसरमा फिदिममा आयोजना हुने कार्यक्रममा संयुक्त रूपमा सम्मान प्रदान गर्ने निर्णय भएको जानकारी दिएको छ। 

३० को दशकका कवि देवेन्द्र शक्तेन राई पाँचथरको चिम्फूलानिवासी हुन्। उनको ‘दन्त्य कथाको देश’ कवितासंग्रह प्रकाशित छन्। उनी निबन्ध लेखनमा पनि सक्रिय छन्। 
निबन्धकार दीपक सापकोटाका ‘लोकेसन’ निबन्धसंग्रह र ‘निर्बन्ध मोन्टाज’ प्रकाशित छन्। पाण्डुलिपि मासिकका पूर्वसम्पादक सापकोटा हाल कान्तिपुर दैनिकको साप्ताहिक परिशिष्टाङ्क  ‘कोसेली’ का संयोजक हुन्।

याक्थुङ भाषामा कलम चलाउँदै आएका लिम्बू वरिष्ठ साहित्यकार हुन्। उनका दर्जनौँ कृति प्रकाशित छन्। 

यसै अवसरमा जेहेनदार विद्यार्थी छात्रवृत्तितर्फ फाल्गुनन्द गाउँपालिकाका तीन विद्यालयका विद्यार्थी छनोट गरिएको छ। छात्रवृत्ति प्राप्त गर्नेमा श्री सारताप मनरत्न माध्यमिक विद्यालय, सरताप (फाल्गुनन्द–३) का कक्षा ८ मा अध्ययनरत सोनी नेम्बाङ, श्री कृष्ण माध्यमिक विद्यालय, चिलिङदिन (फाल्गुनन्द–४) का कक्षा ९ का अन्जन चेम्जोङ तथा श्री जलसिंह माध्यमिक विद्यालय, चिम्फूला (फाल्गुनन्द–३) का कक्षा ८ का विद्यार्थी खाम्बेकहाङ चेम्जोङ रहेका छन्।  

फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्षसमेत रहेका स्व. अमर नेम्वाङको २०७६ साल माघ २६ गते एक कार्यक्रममा सम्बोधन गरेलगत्तै निधन भएको थियो। उनको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले साहित्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ।

सुझावित समाचार