स्वास्थ्य बिमा बोर्डले बिमामा सूचीकृत सबै स्वास्थ्य संस्थालाई बिरामीलाई आवश्यक नपरी अन्यत्र रिफर नगर्न स्पष्ट निर्देशन जारी गरेको छ।
बोर्डले अस्पतालमै उपलब्ध उपचार सेवा हुँदाहुँदै पनि बिरामीलाई अन्य स्वास्थ्य संस्थामा पठाउने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसले बिरामीलाई अनावश्यक दुःख, समयको बर्बादी र अतिरिक्त परीक्षणको भार पर्ने जनाएको छ।
सूचना अधिकारी विकेश मल्लका अनुसार यस्ता अनावश्यक रिफरहरू स्वास्थ्य बिमा ऐन, २०७४, स्वास्थ्य बिमा नियमावली, २०७५ तथा प्रेषण कार्यविधि, २०८० विपरीत भएकाले अब यसमा कडाइ गरिनेछ।
बोर्डले परिपत्र जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई आफ्नै अस्पतालमा उपलब्ध सेवा बेवास्ता नगरी सोही स्थानमै उपचार सुनिश्चित गर्न आग्रह गरेको छ।
बोर्डले अनावश्यक प्रेषण गरेको पाइएमा त्यस्ता सेवाको दाबी मूल्यांकनका क्रममा भुक्तानी रोकिने र स्वास्थ्य बिमा नियमावली, २०७५ को अनुसूची ८ को दफा ४(ग) अनुसार सम्बन्धित स्वास्थ्य संस्थाको सम्झौता स्थगन वा रद्दसमेत हुन सक्ने चेतावनी दिएको छ।