नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै ल्याउने घोषणापत्रलाई केवल नारामा सीमित नराखी स्पष्ट कार्ययोजना र स्रोत व्यवस्थापनसहित प्रस्तुत गर्ने भएको छ। पार्टीले यस घोषणापत्रलाई ‘भिजन–१०’ नाम दिँदै मुलुकको वर्तमान अवस्था र आगामी दशकको दिशालाई एकसाथ समेट्ने तयारी गरेको छ।
शनिबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सुशासन, विकास र व्यावहारिक कार्यान्वयन घोषणापत्रको मूल आधार हुने बताए। उनका अनुसार कांग्रेसको घोषणापत्र आकांक्षा मात्र नभई कार्यान्वयनयोग्य योजनाको दस्ताबेज हुनेछ।
घोषणापत्र निर्माणका क्रममा देशभरका जिल्ला, क्षेत्र र स्थानीय तहबाट सुझाव संकलन भइरहेको जानकारी दिँदै उनले ती सुझावलाई राष्ट्रिय आवश्यकतासँग जोडेर एकीकृत गरिने बताए। कांग्रेसले आफ्नो क्षमता र व्यावहारिकताभित्र रहेर सबै वर्ग, क्षेत्र र समुदायलाई समेट्ने प्रयास गर्ने उनको दाबी छ।
चालिसेले वर्तमान चुनौतीसँगै भविष्यको सम्भावनालाई सम्बोधन गर्ने विश्वसनीय विकल्पका रूपमा कांग्रेसले आफूलाई प्रस्तुत गर्न चाहेको बताए। स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका घोषणापत्रमार्फत सार्वजनिक गरिने उनको भनाइ छ।
यस अवसरमा उनले ‘न्यू टेस्ट’का नाममा देशलाई प्रयोगशाला बनाउने प्रवृत्तिप्रति कडा चेतावनी दिए। जनताबाट अनुमोदन प्राप्त दल कहिल्यै पुरानो नहुने उल्लेख गर्दै उनले पार्टीभन्दा व्यक्तिहरू मात्र समयसँगै पुराना हुने बताए।