रामेछापका ४१ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा

बिहिबार, १६ माघ, २०८२
डिजिटल संस्करण

रामेछापका ९६ वटा मतदानस्थलमध्ये ४१ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ ।  यसबाहेक ३५ वटा मतदानस्थल संवेदनशील रहेका छन् । जिल्लाको भौगोलिक विकटता, सुरक्षा अवस्था, सडकको पहुँच र सञ्चारको पहुँचलगायतलाई मध्यनजर गरेर अतिसंवेदनशील र संवेदनशील मतदानस्थल वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । उनका अनुसार अतिसंवेदनशील मतदानस्थलमा तेह्र, संवेदनशील मतदानस्थलमा नाै र सामान्य मतदानस्थलमा आठजना सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा व्यवस्थापन गरिएको बताए ।

सुरक्षा व्यवस्थापनसँगै मतदाताहरू मतदानस्थलसम्म आउजाउ गर्न सहज तरिकाले व्यवस्थापन मिलाइनेछ । जिल्लामा ९६ वटा मतदानस्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये २० वटा मतदानस्थल सामान्य रहेका छन् । निर्वाचनका लागि आवश्यक पर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी परिचालनका लागि आवश्यक सबै व्यवस्थापन गरिसकेको छ ।

जिल्लामा अपुग सुरक्षाकर्मी र निर्वाचन प्रहरी बाहिरी जिल्लाबाट मगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रामेछापमा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा कुल एक लाख ८७ हजार ९५२ जना मतदाताले मतदान गर्नेछन् । जसका लागि जिल्लाभर ९६ वटा मतदानस्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । 

सुझावित समाचार