संखुवासभाकाे चैनपुरमा सुमाे दुर्घटना हुँदा २ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन् ।
आज (आइतबार) साँझ करिब साढे ६ बजे जिल्लाकाे चैनपुर नगरपालिका-२ बिहीबारेस्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १-०१-००१ च ८२४७ नम्बरको सुमाे जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने ३ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए। उनकाे अनुसार मृत्यु हुनेमा चैनपुर-१, मैदाने बस्ने वर्ष ५९ को पदमबहादुर लिम्बू रहेकाे भनी निजको भतिज वीरबहादुर लिम्बूबाट खुल्न आएको छ भने अर्का मृतक अन्दाजी वर्ष ३० को पुरुष मानिसको नाम, थर, वतन खुलेकाे छैन ।
दुवै लासको कानुनी प्रक्रिया पूरा गर्न लास पोस्टमार्टमको लागि आधारभूत अस्पताल चैनपुर पठाइएको प्रहरीले जनाएकाे छ । गम्भीर घाइते भीमबहादुर थाक्लुङलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी रेफर गरिएको प्रहरीले जनाएकाे छ ।
साँझपख चैनपुरबाट बिहीबारेतर्फ ५ जना यात्रु बोकेको सुमो गाडी आफैँ अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खसेकाे थियाे। दुर्घटनामा चैनपुर- १, सिङरिङ बस्ने वर्ष ३४ को दोर्ची शेर्पा घाइते भएका छन् भने नाम, थर, वतन नखुलेको वर्ष अन्दाजी १३ को बालक सामान्य रहेको प्रहरीले जनाएकाे छ । सामान्य घाइतेको चैनपुर हस्पिटल उपचार भइरहेकाे छ । सवारीचालक फरार रहेकाले खाेजी भइरहेकाे प्रहरीले जनाएका छन्।