राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आइतबार भएको मतदानमा मधेश प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
मतगणनाको अन्तिम परिणामअनुसार महिला कलष्टरतर्फ एमालेकी रेखा झा ७२२२ मतभारसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेकपाकी शमी कुमारी अग्रवालले १९४४ मतभार पाइन्। त्यस्तै, अल्पसंख्यकतर्फ कांग्रेसका रंजित कर्ण ८०९३ मतभारसहित निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपाका रामनन्दन प्रसादको मतभार १३६१ छ।
दलित कलष्टरतर्फ कांग्रेसकै धर्मेन्द्र पासवान ७९०४ मतभारसहित विजयी भएका छन् भने नेकपाका शम्भु पासवान हजाराले १३७६ मतभार मात्र प्राप्त गरे। अन्य कलष्टरतर्फ जसपाका महन्थ ठाकुर ७७२५ मतभारसहित निर्वाचित हुँदा नेकपाका लक्ष्मण पौडेलले १८०५ मतभार पाए।
राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशका एक सयमध्ये ९९ प्रदेश सांसद र २६४ मध्ये २४२ पालिका प्रतिनिधिले मतदान गरेका थिए।
निर्वाचनमा कांग्रेस, एमाले र जसपाले गठबन्धन गर्दा नेपाली कम्युष्टि पार्टी एक्लै चुनाव लड्यो। मधेश प्रदेश सभामा १३ सिट रहेको जनमतले गठबन्धनकै उम्मेदवारहरुलाई समर्थन गरेको छ।