पायल्सको उपचारको क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा एक किशोरीको मृत्यु भएको छ। आइतबार दिउँसो नवलपुरमा रहेको मोहन आयुर्वेदिक औषधालयमा पायल्सको उपचारको क्रममा किशोरीको मृत्यु भएको हो।
लालबन्दी नगरपालिका–२, पुनर्वास बस्ने अन्दाजी १८ वर्षकी हंशु पासवानको औषधालयका रामविनय साहले पायल्सको शल्यक्रिया गरेका थिए। शल्यक्रिया लगत्तै किशोरीको स्वास्थ्य अवस्था गम्भीर बनेको पीडित परिवारको भनाइ छ।
किशोरीको अवस्था बिग्रिएपछि चिकित्सकले उनलाई हरिवनस्थित नमुना अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको परिवारको भनाइ छ। हरिवनस्थित सरस्वती अस्पताल पुर्याएपछि चिकित्सकले किशोरीलाई मृत घोषणा गरेका थिए। नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयका चिकित्सकले लापरबाहीपूर्ण ढंगले गलत शल्यक्रिया गर्दा किशोरीको मृत्यु भएको पीडित परिवारको आरोप छ।
मृतक किशोरीको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याईएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। घटना लगत्तै जम्मा भएका मृतकका आफन्त तथा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्गमा केहीबेर सवारी आवागमन अवरुद्ध बनाएका थिए। सुरक्षा निकायको पहलमा घटनाको निष्पक्ष छानविन गर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमतिपछि यातायात सुचारु भएको प्रहरी नायब उपरीक्षक राईले बताए।
किशोरीको उपचारमा संलग्न चिकित्सक रामविनय साहलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।