पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) काे लागि आफू तयार भएको बताइरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले त्यसलाई अस्वीकार गरेका छन् ।
एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा कमेन्ट गर्दै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’
बालेनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्विकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता–कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो ! आफूलाई आतंकवादीचाहिँ कहिले स्विकार्ने हो ? त्योपछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’
यसअघि भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चुनावमा होमिएका नेताबिच पब्लिक डिबेट हुनुपर्ने माग भइरहेको समयमा ओलीले आइतबार बिहान यसका लागि आफू तयार भएको बताएका थिए । ओली र बालेनले झापा ५ बाट चुनावी भिडन्त गर्दै छन् । यस विषयमा कांग्रेस सभापति गगन थापाको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
