साहित्यकार डा. कौशिला रिसाल अहिले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य छिन् । उनी गोरखाको छोप्राकमा पाँच दशकअघि जन्मिएकी हुन् । आफ्ना दौँतरी १४/१५ वर्षको उमेरमै बिहे गरेर जाँदा उनलाई भने पढ्नुपर्छ भन्ने लागिरह्यो । विवाहको प्रस्ताव उनले अस्वीकार गरिन् । उनले बिहे होइन, पहिला आफ्नै खुट्टामा उभिएर समाज र देशका लागि योगदान दिने प्रण गरिन् । त्यसैले घन्टौँको बाटो हिँडेर माध्यामिक तह पास गरिन् ।
कौशिलाले २०५२ को माघमा एसएलसी परीक्षा दिइन् र फागुनमा छोप्राक–३ को भद्रशिला प्राविमा स्वयंसेवक शिक्षकका रूपमा काम गरिन् । त्यतिवेला उनले मासिक आठ सय रुपैयाँ पाउँथिन् । उनलाई आत्मविश्वास बढ्दै गयो । गुरुङ समुदायको विद्यालयमा पढाउने उनलाई सबैले सानो मिस भन्थे । विद्यार्थी र अभिभावकसँग उनको गहिरो सम्बन्ध बस्यो । उनले विद्यालयमा केवल अक्षर मात्र सिकाउँदैनथिन्, साहित्य र गीत लेख्न पनि सिकाउँथिन् ।
करिब १० महिना त्यहाँ स्वयंसेवक शिक्षकको रूपमा पढाएपछि उनले ०५३ साल कात्तिकबाट निजी स्रोतमा जनकल्याण प्रावि आइन् । त्यतिवेला उनको तलब १५ सय रुपैयाँ थियो । उनले त्यहाँ ११ महिना पढाइन् । त्यसपछि उनको यात्रा फराकिलो बाटोतिर मोडियो । प्राविमा पढाइरहेकी उनी ११ महिनापछि माध्यमिक तहको विद्यालयमा पुगिन् मण्डली माविमा, सट्टा दरबन्दीमा । त्यहाँ पढाउँदा उनी अखिल नेपाल शिक्षक संगठनमा आबद्ध भइन् । देशमा द्वन्द्व चर्किरहेको थियो । स्कुलनजिकै चौकी थियो । उनी संगठनमा आबद्ध भएको थाहा पाएर तत्कालीन शाही नेपाली सेनाले उनीमाथि निगरानी राखिरहेको हुन्थ्यो । कौशिला ती दिन सम्झिँदै भन्छिन्, ‘मैले पढाउँदा उनीहरू झ्यालबाट हेर्थे र भन्थे– तपाईंले जनवादी शिक्षा कसरी पढाउनुहुन्छ भनेर हेर्न आएको ।’
त्यसबिचमा उनले आइए भर्ना गरिसकेकी थिइन् । ‘घरबाट क्याम्पस पुग्न हिँडेर तीन घन्टा लाग्थ्यो । चरम द्वन्द्वमा कुन पक्षबाट को कसरी मारिने हो थाहा थिएन । क्याम्पस खासै जान सकिनँ । कहिलेकाहीँ पुग्दा क्याम्पसका सरहरूले हाम्रो पाउना आउनुभो भनेर व्यंग्य गर्नुहुन्थ्यो । टाढा र अनेक समस्याका कारण आइए पहिलो वर्षमा फेल भएँ,’ उनले नमिठो अनुभव सुनाइन् । आइए दोस्रो वर्षको पढाइ चलिरहँदा तत्कालीन सेनाले धरपकड गर्यो । प्राक्टिकलमा उपस्थित हुनै सकिनन् । उनी भन्छिन्, ‘माओवादी विद्यार्थी भनेर चर्चा भएको थियो । त्यसमा पनि के–के भयो, त्यो वर्ष पास हुन सकिनँ । बल्ल ५७ सालमा आइए पास गरेँ । मेरो जागिर पनि गयो ।’
जागिर गएपछि कौशिला काठमाडौं आइन् । गोरखाकै सिरानचोक–२ झिम्रेकका भोलानाथ ढकालसँग एक वर्षअघि नै आफन्तले कुरा ल्याएका थिए । उनले काठमाडौं आएपछि सोचिन्, अब विवाह गर्छु । अनि बालाजु पार्कमा केही आफन्त जम्मा भएर टीका र माला मात्र लगाएर प्रगतिशील विवाह गरिन् । ‘मलाई दाइजोप्रथा मन पर्दैनथ्यो । भोला सरको विचार पनि मेरो जस्तै रहेछ, त्यसैले हामी दुवैले विवाह गर्यौँ,’ उनले सुनाइन् । विवाहपछि पनि उनले पढाउन छोडिनन् । बिहान खाना बनाउँदै कोठामा ट्युसन पढाउँथिन् । त्यसपछि उनको यात्रा फेरि विद्यालयतिरै बढ्यो । डल्लुस्थित फ्युचर स्टार बोर्डिङ स्कुलमा पढाउन थालिन् होस्टल वार्डेनका रूपमा । ‘त्यहाँ पढाएको एक वर्षमा छोरी जन्मिइन् । श्रीमान् त्यतिवेला काभ्रेमा पढाउनुहुन्थ्यो । पछि तनहुँ जानुभयो । मलाई छोरी हुर्काउँदै पढाउन गाह्रो भयो । त्यसपछि त्यहाँ छाडेँ । त्यसबिच महेन्द्ररत्न क्याम्पसमा बिएड भर्ना गरेँ । आफन्तकोमा छोरी छाडेर परीक्षा दिन गएँ । अनेक समस्या झेल्दै ६० सालमा बिएड पास गरेँ ।’
कौशिला बस्ने ठाउँमा धेरै महिला बिचमै पढाइ रोकेर बसेका थिए । उनले ती महिलालाई शिक्षा दिने योजना बनाइन् । दुई–चारजनालाई पढाउन सुरु गरेकी थिइन्, पछि २० जनासम्म भए । त्यही प्रेरणाले उनले ‘नमुना महिला वैकल्पिक विद्यालय’ खोलिन् । २०६२ भदौ १० गतेबाट सुरु भएको सो विद्यालयमा कक्षा १ देखि ६ सम्मको पढाइ हुन्थ्यो । तीन वर्षका बिचमा त्यसलाई प्राविबाट निमावि र मावि बनाइन् । धेरै विद्यार्थी ७ कक्षा भर्ना हुन आउँथे । उनको विद्यालयबाट ०६६ सालमा ८ जना महिला विद्यार्थीले एसएलसी पास गरे । स्कुलमा १४ वर्षदेखि ७५ वर्षसम्मका महिला पढ्न आउथे। ‘उहाँहरूलाई पढाउन पाउँदा बेग्लै संसारमा पुगेको अनुभूति हुन्थ्यो । पढ्नलाई उमेरले छेक्ने रहेनछ भन्ने उदाहरण उहाँहरू हुनुभयो,’ उनी भन्छिन्, ‘अहिले त्यो विद्यालयको २० ब्याजले एसएलसी पास गरिसके । संस्थापक प्रधानाध्यापक भएर मैले २०६२ सालदेखि ७६ सम्म काम गरेँ ।’ उनको विद्यालयबाट पास भएकाहरू अहिले कोही शिक्षक, कोही नर्स भएका छन्, कोही विदेश पनि पुगेका छन् ।
उनले आफ्नो पढाइलाई रोकिनन् । आफूले सिक्ने र अरूलाई सिकाउने भन्दै उनले ६९ सालमा डिग्री सकिन् । ७८ सालमा नेपाली विषयमा विद्यावारिधि सकिन् । उनी भन्छिन्, ‘यो अवधि मेरा लागि उच्च सिकाइको अवधि भयो । पढाइमा मध्यम म तर, निरन्तर मिहिनेत गरेपछि जस्तो मान्छेले पनि सफलता हासिल गर्छ भन्ने उदाहरण म आफैँ हुँ जस्तो लाग्छ ।’
उनी घरमै बसिरहेकी थिइन् । ७९ फागुनमा फोन आयो, ‘तपाईं प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य नियुक्त हुनुभएको छ, कार्यालयमा सम्पर्क गर्नुहोला’ भनेर । सम्बन्धित ठाउँमा उनले योग्यता र क्षमताको प्रमाण पेस गरेकी थिइन् । योग्यता र क्षमताले गर्दा नै उनले नेपाल प्रज्ञा प्रतिष्ठानको सामाजिक शास्त्र विभागको जिम्मेवारी पाएकी छिन् । २०८३ साल फागुनमा मेरो कार्यकाल सकिँदै छ । भन्छिन्, ‘यसबिचमा सामाजिक शास्त्र सम्बन्धमा विभिन्न पुस्तक र सामग्रीको अनुसन्धान गर्ने, गोष्ठी र प्रकाशन गर्ने काम गरिरहेका छौँ । म आएपछि अनुसन्धानमा सीमान्तकृत महिलाको अनुसन्धान गर्ने विषय थपिएको छ ।’