- मतदान अधिकृतलाई दुई हजार पाँच सय, सहायक मतदान अधिकृतलाई दुई हजार, सहायक कर्मचारीलाई एक हजार ६ सय तथा सहयोगी कर्मचारी र स्वयंसेवकलाई जनही एक हजार दुई सय रुपैयाँ दैनिक भत्ताको व्यवस्था
निर्वाचनमा खटिने कर्मचारीका लागि विभिन्न सुविधा हुन्छन् । आयोगले ती कर्मचारीलाई भत्तादेखि बिमासम्मका सुविधा उपलब्ध गराउँछ । निर्वाचन आयोग, आयोगमातहतका ७७ कार्यालय र १६५ निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीका लागि सुरु तलबस्केलको शतप्रतिशतसम्म निर्वाचन सुविधाको व्यवस्था छ ।
अतिरिक्त समयमा काम गरेकोमा खाजा–खाना खर्चसहितको सुविधा ती कर्मचारीका लागि हुन्छ । मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीलाई दैनिक भत्ताको समेत व्यवस्था छ ।
मतदान अधिकृतलाई दुई हजार पाँच सय, सहायक मतदान अधिकृतलाई दुई हजार, सहायक कर्मचारीलाई एक हजार ६ सय तथा सहयोगी कर्मचारी र स्वयंसेवकलाई जनही एक हजार दुई सय रुपैयाँ दैनिक भत्ताको व्यवस्था छ ।
निर्वाचनमा खटिने सबै कर्मचारीलाई जनही २० लाख रुपैयाँको बिमासमेत गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनको चालू खर्चमा सम्बन्धित ४८ वटा काम भइरहेका छन् ।
यिनका लागि ६ अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ । कर्मचारी सुविधाबारे प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ ले व्यवस्था गरेको छ ।