सरकारले निर्वाचन आचारसंहिता लागू भएकै अवस्थामा नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाएको छ । २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै गएराति आइतबार १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ ।
आचारसंहिताअनुसार सरकारले नयाँ पद सिर्जना गर्ने, रिक्त पद पूर्ति गर्ने, भत्ता वृद्धि गर्ने वा कुनै पनि किसिमका आर्थिक सुविधा तथा पुरस्कार प्रदान गर्न पाइँदैन । तर, आचारसंहिता लागू भए पनि नियुक्ति प्रक्रियालाई कुनै बाधा नपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको तर्क छ । उनले भने, ‘आचारसंहिता लागू नहुँदै नियुक्तिका लागि छनोट समिति बनिसकेको हो । त्यसैले अन्तर्वार्ता र योग्यता परीक्षणको काम रोकिँदैन । तर, नियुक्ति गर्ने वेलामा भने निर्वाचन आयोगको सहमति लिनुपर्ने हुन्छ । अहिले प्रक्रिया अघि बढाउन आचारसंहिताले रोक्दैन ।’
वायुसेवा निगमले अहिले कुनै पनि प्रकारको नियुक्ति प्रक्रिया अघि बढाउन नपाउने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनका अनुसार अहिले अन्तर्वार्ता लिएको छ भने पनि नतिजा प्रकाशन गर्न मिल्दैन । उनले भने, ‘आचारसंहिता अवधिभर नियुक्ति नदिँदा जहाज नै रोकिन्छ, आपत् नै पर्छजस्तो लाग्छ भने आयोगमा निवेदन दिन सकिन्छ । तर, नियुक्ति प्रक्रिया अघि बढाउन पाउँदैन ।’
निगमको महाप्रबन्धक छनोट कार्यविधि, २०८२ अनुसार गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचनाअनुसार आवेदन दिएका १६ जना उम्मेदवारमध्ये न्यूनतम शैक्षिक योग्यता र आवश्यक अनुभव पूरा गरेका १० जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन् ।
संक्षिप्त सूचीमा मोरङका उपेन्द्रबहादुर कार्की, झापाका टंकनिधि दाहाल, कास्कीका डा. दीपकप्रसाद बाँस्तोला, काठमाडौंका दिपुराज ज्वारचन, बैतडीका डा. भीमबहादुर चन्द, गुल्मीका योगराज कँडेल शर्मा, लमजुङका विष्णुबाबु मिश्र, डडेलधुराका वेदप्रसाद उप्रेती, सिराहाका सञ्जयकुमार सिंह र सोलुखुम्बुका सन्तुष्टकुमार बस्नेत रहेका छन् । निगमका अनुसार उम्मेदवारलाई वर्णानुक्रमअनुसार संक्षिप्त सूचीमा राखिएको हो ।
सूचीमा परेका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौंमा हुने तय गरिएको छ । अन्तर्वार्ता तथा प्रस्तुतीकरण माघ १४ र १५ गते बिहान ८ बजे र दिउँसो ३ बजेबाट सुरु हुने तालिका सार्वजनिक गरिएको छ । कुन उम्मेदवार कुन समयमा उपस्थित हुने भन्ने विवरण सम्बन्धित उम्मेदवारलाई मन्त्रालयमार्फत जानकारी गराइने जनाइएको छ ।
मन्त्रालयले भने नेपाल वायुसेवा निगमको नेतृत्व चयन प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यता आधारित बनाउन खुला प्रतिस्पर्धामार्फत महाप्रबन्धक नियुक्ति गर्न लागिएको दाबी गरेको छ । तर, निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा यस्तो प्रक्रिया अघि बढाइनु आचारसंहिताको भावनाविपरीत भएको सरोकारवालाको टिप्पणी छ ।