खोटाङमा कांग्रेसबाट महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई टिकट

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई खोटाङमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टिकट दिएको छ । कांग्रेस खोटाङका पूर्वजिल्ला सचिवसमेत रहेका महाधिवेशन प्रतिनिधि वीरकाजीलाई कांग्रेस केन्द्रीय समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सोमबार साँझ टिकट दिएको हो । 

केपिलासगढी गाउँपालिका– १ फेदीनिवासी वीरकाजी नेपालमा प्रजातन्त्र बहालीपछि कांग्रेस खोटाङका विभिन्न पदमा रहेर राजनीतिमा सक्रिय हुँदै आएका छन् । साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्षसमेत रहेका वीरकाजीलाई कांग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टिकट दिएपछि नेता तथा कार्यकर्ताहरूले शुभकामना दिइरहेका छन् । 

प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा पुरानै दलका उम्मेदवारहरूबिच प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन् । कांग्रेसबाट वीरकाजी, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट जिल्ला अध्यक्ष देवविक्रम राई र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अर्थ/राजनीतिक विश्लेषक डा. हरि रोकाले टिकट लिएका छन् ।  

१० स्थानीय तह रहेको जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (नेपाल)बाट राकेश राई, श्रम संस्कृति पार्टीबाट आरेन राई र राष्ट्रिय परिवर्तन पार्टीबाट निमेश राईले टिकट लिएका छन् । आगामी निर्वाचनमा भाग लिने राजनीतिक दलले मंगलबार  उम्मेदवारी दर्ता गराउनुपर्ने निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार आज माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता, माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी, माघ ७ गते उम्मेदवारको नामावली प्रकाशन, माघ ९ गते उम्मेदवारले आफ्नो नामावली फिर्ता लिन पाउने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिह्न प्रदान गर्नेछ । निर्वाचन सफल बनाउन सरकारले निर्वाचन प्रहरीसमेत छनोट गरिरहेको छ । 

आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । १० स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ४७ हजार १२० जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी रविन मगरले जानकारी दिएका छन् । 

सुझावित समाचार