नवलपुरको देवचुली नगरपालिका ११ आश्रम चोकमा गएराति पिकअफ भ्यान र स्कुटी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी स्कुटी चालक रुकम जिल्लाको मुसिकोट घर भई हाल देवचुली ९ विशालटार मामाघर आएका २५ वर्षीय चेतनबहादुर खड्काको मृत्यु भएको हो।
प्रहरीका अनुसार आश्रम चोकमा ग १ ज ५९३० नम्बरको पिकअप भेन र गण्डकी प्रदेश ०४–००१ प ९१०६ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाएको हो।दुर्घटनामा परी स्कुटी पछाडि बसेका देवचुली नगरपालिका ८ निवासी २१ को नारायण परियार गम्भीर घाइते भएका छन् । सेन्ट्रल अस्पताल चितवनमा उपचार भइरहेको छ ।
ठक्कर दिने भ्यान र भ्यान चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । त्यसैगरी नवलपुरको कावासोती नगरपालिका–१६ स्थित चालिसकिलो जंगलमा ट्रकमा च्यापिएका सहचालकको साढे चार घण्टापछि उद्दार गरिएको छ । कावासोतीबाट चोरमारातर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८४७२ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ४० फिट तल खसेको थियो।
कावासोती ९ का २३ वर्षीय सहचालक सन्दिप परियारको उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । बिहान करिब साढे ४ बजेतिर दुर्घटनामा परी ट्रकको स्टेरिङ र इन्जिनको भागमा च्यापिएका उनलाई ९ बजेतिर उद्दार गरिएको थियो । प्रहरी, सशस्त्र प्रहरी, कावासोती नगरपालिकाको क्रेन, स्थानीय व्यवसायी र सर्वसाधारणको संयुक्त प्रयासमा उनलाई उद्धार गरिएको हो । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ। उनको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।