कांग्रेसको विशेष महाधिवेशनमा दुई हजार ६५२ जना प्रतिनिधि सहभागी थिए : देवराज चालिसे

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण

विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको प्रवक्ता बनेका देवराज चालिसेले कांग्रेसको विशेष महाधिवेशनमा दुई हजार ६५२ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी भएको दाबी गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै चालिसेले चार हजार ६३५ मताधिकार भएका प्रतिनिधिमध्ये दुई  हजार ६५२ जना महाधिवेशन प्रतिनिधि उपस्थित भएर नेतृत्व चयन गरेको दाबी गरेका हुन् । 

यस्तो छ उनको प्रेस विज्ञप्ति 

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस ३० गते विधानसम्मत, बहुमत प्रतिनिधिको उपस्थिति र सहभागितामा पूर्ण रूपमा वैधानिक तरिकाले सम्पन्न भएको विदितै छ।  यसले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति भंग गरी १५औँ महाधिवेशन सम्पन्न नभएसम्मका लागि श्री गगनकुमार थापाको सभापतित्वमा नयाँ केन्द्रीय समितिको निर्माण गरेको व्यहोरासमेत सार्वजनिक भइसकेको छ । 

यसबिच विशेष महाधिवेशन सम्पन्न भएपछि पनि केही महाधिवेशन प्रतिनिधिहरूले दस्तखत फिर्ता लिएको भन्ने केही सञ्चारमाध्यमहरूमा  प्रचार भएको देखिएको हुँदा यसको सत्यता तथा वैधानिक प्रभाव सम्बन्धमा निम्न बुँदाहरू स्पष्ट गर्न आवश्यक ठानी नेपाली कांग्रेस केन्द्रीय समितिको तर्फबाट यो जानकारी सार्वजनिक गरिएको छ । 

१. दर्ताको समयमा दस्तखतको स्थिति

  •   विशेष महाअधिवेशन असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल २,४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न थियो।
  •   दर्तापछि केवल २९ जनाले हस्ताक्षर फिर्ता लिएका थिए।
  • २. अधिवेशनमा उपस्थिति र सक्रिय सहभागिता
  •   अधिवेशनमा कुल महाधिवेशन प्रतिनिधि संख्या ४,६३५ मध्ये २,६५२ जना महाधिवेशन प्रतिनिधिकाे उपस्थिति रहेको थियो । 
  •   उपस्थित सबै प्रतिनिधिहरूले निर्णय प्रक्रियामा पूर्ण रूपमा भाग लिए र मतदान र बहसमा सक्रिय सहभागी भए।
  • ३. अधिवेशन सम्पन्न भएपछि फिर्ता लिइएको दाबीको कानुनी र वैधानिक प्रभाव
  •   अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने हस्ताक्षतले विशेष महाधिवेशनको वैधानिकता, निर्णय प्रक्रिया वा निर्णयहरूको वैधतामा कुनै प्रभाव पार्दैन।
  •   नेपालको संविधान, नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार एकपटक वैधानिक रूपमा दर्ता भई सम्पन्न भएको अधिवेशनको निर्णयलाई पछिको हस्ताक्षर फिर्ताले रद्द वा प्रभावित गर्न मिल्दैन।
  • ४. केही दस्तखतहरू फिर्ता भएको  भनिएको प्रचारको विश्वसनीयता र आधार
  •  दस्तखत फिर्ता लिएको भनिएको समय, संख्या (जस्तै: २९ भन्दा धेरै दाबी) र व्यक्तिहरू को कुनै आधिकारिक सूची, प्रमाणित कागजात वा सत्यापित विवरण सार्वजनिक रूपमा उपलब्ध छैन।
  •   यो प्रचार राजनीतिक प्रचारात्मक प्रयोजन र सार्वजनिक धारणा प्रभावित गर्नका लागि मात्र फैलाइएको अतिरञ्जित र भ्रामक दाबी हो भन्ने स्पष्ट छ।

सुझावित समाचार