काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन्। आगामी आइतबार(४ माघमा) राजीनामा दिएर ५ माघदेखि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चुनावी यात्रामा निस्कने उनको तयारी छ। बालेनलाई आगामी निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
५ माघमा जनकपुरबाट रास्वपाले चुनावी सभाको थालनी गर्दै छ। जहाँ पार्टी सभापति रवि लामिछानेसहित बालेनलगायत उच्च नेता सहभागी हुँदै छन्। जनकपुरबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनको ब्रान्डिङ गर्ने रास्वपाको तयारी छ।
बालेन झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ताको तयारीमा छन्। यद्यपि, उनी अझै यस विषयमा छलफलकै क्रममा रहेको बताइन्छ। ‘जनकपुरबाट झापा जाने कि गृहजिल्ला महोत्तरी जाने भन्ने केही दिनमै उहाँले निर्णय गर्नुहुनेछ,’ बालेननिकट एक अधिकारीले भने।
झापाको दमकमा बालेनको सचिवालय बनाउन रास्वपाले घरसमेत भाडामा लिइसकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको आधारक्षेत्र मानिएको निर्वाचन–५ बाट उनी चुनाव लड्ने विषयमा अन्तिम निर्णय भने भइसकेको छैन। झापामा बालेनको एक टिम पुगेर अध्ययन गरिरहेको छ।