नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दोषी र निर्दाेषको कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न नचाहने बताएका छन्। बिहीबार बिहान विशेष महाधिवेशनले सभापतिमा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि सामाजिक सञ्जालमा स्टाटस लेखेर डा कोइरालाले कांग्रेसलाई एकतावद्ध राख्ने आफूहरुको भागिरथ प्रयास सफल हुन नसकेको उल्लेख गरे ।
आफूहरु सबैजना कही न कही चुकेको कुरा स्विकार्न कुनै संकोच मान्नु नहुने बताए । यस विचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिकावारे मूल्यांकन गर्ने जिम्मेवारी आफूले इतिहाँसमा सुम्पेको बताए । उनले लेखेका छन्,‘दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबिच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ । ’
कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको इमान्दार प्रयास भए पनि त्यसो हुन नसकेको उल्लेख गरे । उनले यस कठिन घडीमा श्रद्धेय नेता विपी कोइरालालाई हामीले स्मरण गर्नुपर्ने बताए । ‘विपी कोइरालालाई जीउ ज्यानको बाजी लगाएर साथ दिने लाखौं साथीहरु पार्टीमा अविचलित भएर लोकतन्त्रको संघर्षमा अथकित भै संघर्षरत रहे, तर केही व्यक्ति र समुह विपीलाई छाडेर गए । उहाँ यसलाई नियतिको खेल भन्नुहुन्थ्यो । विपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो । म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्छु,’ उनले भने ।
अब आफूहरुको सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहाँसको गौरवलाई जोगाउने जिम्मेवारी रहेको उल्लेख गरे । यस कठिन घडीमा कांग्रेसको संगठनात्मक उर्जा प्रस्फुटन भएर मात्र इतिहाँसले र अग्रज नेताहरुले दिएको जिम्मेवारी पुरा गर्न सक्ने बताए । उनले भनेका छन्, ‘यसको लागि सम्पुर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको छ । तसर्थ, साथीहरु कांग्रेस पार्टी आम कार्यकर्ता साथीहरुले निर्माण गरेको पार्टी हो, हाम्रा साझा इतिहाँस छन, साझा नेता र शहिदहरु छन । हामी यिनैको प्रेरणाबाट नेपाल र नेपालीको साझा भविष्यको कल्पना गर्न सक्छौँ । हामी यही पार्टीमा बसेर नेपालको भविष्य निर्माण गर्नुपरेको छ । हाम्रा अग्रज नेताहरु र शहिद हुनुभएका साथीहरु हाम्रा प्रेरणाका स्रोत हुन् ।’
नेपाली जनताले गरेको भरोसा र विश्वासलाई आम मतदाताले विगतमा पार्टी विभाजनको कारण प्रभावित हुन नदिएको बताए । ‘आज एकपटक फेरी तपाई हामी हाम्रा सबै अग्रज नेताहरुको मार्ग दर्शनबाट र शहिदहरुको बलिदानलाई सम्झेर नेपाली जनताको समृद्धिको यात्रामा जनताको घर दैलोमा भोट माग्न जानु परेको छ । समय छोटो छ, तर पनि यथासम्भव तपाईहरुको घर आंगनमा कांग्रेसको चुनावी अभियानमा म आउने कोशिस गर्दछु । पार्टीभित्र गर्नुपर्ने सुधारका प्रकृया रोकिने छैनन् । म आह्वान गर्छू ‘ हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ,’ उनले भने ।