इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले २५ प्रतिशत भन्सार कर थप्ने

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशका सामान अमेरिका भित्रिँदा थप २५ प्रतिशत भन्सार तिर्नुपर्ने बताएका छन् । ट्रम्पले सोमबार उनको सामाजिक सञ्जाल एकाउन्टमा पोस्ट गर्दै यस निर्णयको घोषणा गरेका हुन् । उनको यो निर्णय ‘अन्तिम र निर्णायक’ भएको बताएका छन्, तथापि यस सम्बन्धमा थप केही विवरण प्रदान गरेका छैनन् । 

‘तुरुन्तै लागू हुने यो निर्णय इस्लामिक गणतन्त्र इरानसँग व्यापार गर्ने कुनै पनि देशमाथि लागू हुनेछ,’ ट्रम्पले आफ्नो वेबसाइट ट्रुथ सोसलमा एक पोस्टमा भनेका छन् । यस निर्णयबाट प्रवाहित हुने सबै देशको सूची नदिइए पनि रुस, चीन, ब्राजिल र टर्किएजस्ता प्रमुख अर्थतन्त्रले अहिले इरानसँग व्यापार गर्ने गरेका छन् । ती देश प्रभावित हुने देखिन्छ । 

इरानमा केही समयदेखि सरकारविरुद्ध ठुलो विरोध प्रदर्शन भइरहेको छ । सरकारले प्रदर्शनकारीमाथि ठुलो दमन गरिरहेको समाचार आइरहेका छन् । ‘ट्रेन्डिङ इकोनोमिक्स’का अनुसार इराक र संयुक्त अरब इमिरेट्स (युएई) पनि इरानका महत्वपूर्ण व्यापारिक साझेदार हुन् । ‘हामीले सधैँ विश्वास गर्छाैं कि भन्सार युद्धमा कसैले जित्दैनन् । तथापि, चीनले दृढतापूर्वक आफ्नो वैध अधिकार र हितको रक्षा गर्नेछ,’ चिनिया विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकारलाई भनिन् । 

गत जुन महिनामा अमेरिकाले इजरायलद्वारा सुरु गरिएको १२दिने युद्धमा पनि अमेरिकाले इजरायलको पक्ष लिँदै तीन इरानी आणविक संयन्त्रमा बम विस्फोट गराएको थियो । कानुनी विज्ञका अनुसार इरानमाथि अमेरिकी आक्रमणले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने सम्भावना छ । जनवरी २ मा ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले प्रदर्शनकारी मारिइरहे सैन्य कारबाहीबारे पनि विचार गर्ने संकेत गरेका थिए । ‘यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीलाई गोली हान्छ र हिंस्रक रूपमा मार्छ भने संयुक्त राज्य अमेरिका प्रदर्शनकारीको उद्धारमा आउनेछ,’ ट्रम्पले लेखे । 

सुझावित समाचार