जयबागेश्वरीको मौलिकता फर्काउन नौ करोडको योजनामा काम हुँदै

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले जयबागेश्वरी (ग्वलः देश) क्षेत्रमा रहेका घरहरूलाई मौलिक रूप दिने भएको छ । ऐतिहासिक जयबागेश्वरीलाई हाल कंक्रिटका भवनले ध्वस्त पारेको भन्दै महानगरपालिकाले यस क्षेत्रका ७५ वटा घरलाई मौलिक स्वरूपमा रूपान्तरण गर्न लागेको हो । जयबागेश्वरीमा बनिसकेका घरहरूलाई पूरै भत्काएर नभई भइरहेकै अवस्थामै मौलिक स्वरूप दिने विधि अपनाइनेछ । महानगरपालिकाले पुरानो बस्तीलाई मौलिक शैली दिन ठेक्कासमेत लगाइसकेको छ । नौ करोड चार लाख ८९ हजार ३७७ रुपैयाँमा यहाँका ७५ वटा घरको स्वरूप बदलिनेछन् । 

काठमाडौं महानगरपालिका– ८ का वडाध्यक्ष आशामान संगतका अनुसार जयबागेश्वरी मन्दिरदेखि सेतोढोकासम्मको २९० मिटर सडक दायाँबायाँ रहेका घरहरूको सडकतर्फको मोहडालाई मौलिक स्वरूप दिन लागिएको हो । यो बस्तीले मल्लकालीन सभ्यतासमेत बोकेकाले कतिपय घर मल्लकालीन र कतिपय राणाकालीन स्वरूपमा फर्काइनेछ । व्यक्तिगत घर भए पनि महानगरपालिकाले मौलिक वस्तु शैलीलाई परम्परागत मानेर एकरूपता दिन लागेको महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजकसमेत रहेका वडाध्यक्ष संगतले बताए । 

‘यहाँ मल्लकालीन शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानोजस्ता भागलाई मौलिकता दिन्छौँ, हेर्दा एकनास र मौलिक बनाउँछौँ,’ उनले भने, ‘हाल घरको गारोमा प्रयोग गरिएका इँटा बाहिरबाट देखिने खालका हुन्छन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुट्टेदार परम्परागत झ्यालहरू हुन्छन्, छिँडी, मातः, च्वतं र बुइँग गरी चार तला तथा छानासहितको घर मल्लकालीन घरको डिजाइन हो, यस क्षेत्रका घरहरूलाई यस्तै रूप दिन्छौँ ।’ बस्तीलाई एकरूपता दिने क्रममा प्रवेशद्वारमा सेतो ढोका (टुयु ध्वाखा) निर्माण गरिसकिएको छ । हाल यस बस्ती क्षेत्रमा नरसिंह फल्चा, ताम्रेश्वर फल्चा, ताम्रेश्वर महादेव मन्दिर, मन्दिरपरिसरमा परम्परागत इनार, ढोका छेँ फल्चा, बच्छलेश्वरी डबली फल्चा, मूर्तिसहितको गम्ती महादेव मन्दिर, मन्दिरपरिसरमा परम्परागत इनारसहित धार्मिक, सांस्कृतिक महत्व बोकेका ऐतिहासिक संरचनाहरू छन् । 

त्यस्तै, बस्तीभित्र बुद्ध चैत्य, ग्वलःदे फल्चा, ग्वलःदे डबली, स्थान गणेश, नास द्यः छेँ, लुक महाद्यः, कुमारी द्यः दुद्ध स्तुप, रामलंका फल्चा, नवग्रह मूर्ति, मठा फल्चा, मृत्युञ्जय महादेव, ब्रह्मा मन्दिर, नरसिंह भगवान् मन्दिर, नवदुर्गा फल्चा, नवदुर्गा डबली, जयबागेश्वरी मन्दिर, सुन्धारालगायत छन् । यहाँ मचातिं जात्रा (त्रिशूल जात्रा) निकाल्ने फल्चा, धन्वन्तरी मन्दिर, उमामहेश्वर मन्दिर, श्रीकृष्ण मन्दिर, सूर्यनारायण मन्दिर, इन्द्रेश्वर महादेव, यही परिसरमा परम्परागत इनार, तलेजु भवानी मन्दिर, अष्टमातृका मन्दिर, नित्यनाथ मन्दिर, तुपेक भैरव र गणेश र निर्माणेश्वर महादेव मन्दिर छन् ।

सानो बस्तीमा पनि धेरै मौलिकता र ऐतिहासिक मठमन्दिर भएकाले महानगरपालिकाले यस क्षेत्रलाई मौलिकतातर्फ फर्काउन लागेको हो । जयबागेश्वरी ऐतिहासिक बस्ती भएकाले पनि यहाँ पुराना नाच तथा जात्राहरू जीवित छन् । त्रिशूल जात्रा, बच्छलेश्वरी जात्रा, श्रीकृष्ण जात्रा, गाईजात्रा, नवदुर्गा नाच, १२ वर्षे हरिसिद्धि नाच, खड्गजात्रा, रोपाइँजात्रा, यलाँ पर्व, गुंला पर्व यहाँका मौलिक जात्रा तथा नाच हुन् । जयबागेश्वरी क्षेत्रमा देशोद्धार पूजा, कुमाःमचा (कुमार र कुमारी पूजा), बालाचतुर्दशीमा सतबीज छर्नेसमेत गरिन्छ । यो क्षेत्र पशुपतिनाथ क्षेत्रसँग समेत जोडिएको छ ।

सुझावित समाचार