नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)को वित्त मन्त्रालयका सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन्।
भेटवार्तामा नेपाल–युएईबिचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ। युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–युएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपालमा रहेको लगानी सम्भावनाबारे जानकारी गराउँदै निजी क्षेत्रबिचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, ठुला पूर्वाधार तथा सूचना प्रविधिजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तार गर्न सकिनेमा जोड दिए।
साथै उनले काठमाडौंका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु हुनु पर्यटन, व्यापार र समग्र व्यावसायिक आवागमन विस्तारका लागि अत्यन्त महत्त्वपूर्ण हुने उल्लेख गरे।
युएईको वित्त मन्त्रालयका सचिव अल सालेहले नेपालले प्रस्तुत गरेका परियोजना र अवसरहरूप्रति युएई पक्षले चासो देखाउँदै निजी क्षेत्रबिचको सहकार्य बढाउन सकारात्मक रहेको बताए। दुवै पक्षले आगामी दिनमा सहकार्यलाई अझ गहिरो बनाउँदै ठोस परिणामतर्फ अघि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।