मैले उम्मेदवारीबारे निर्णय लिएको छैन, कुनै पार्टीमा गएको पनि छैन : मन्त्री खरेल

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूले उम्मेदवारी दिने या नदिनेबारे कुनै निर्णय नलिएको बताएका छन्।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २९औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा उनले चुनावमा उठ्ने भनेर आफ्नाबारे बाहिर आएका समाचारमा सत्यता नरहेको प्रस्ट पारे।

‘म चुनावमा उठ्ने रे भन्ने कुराहरू पनि आयो, फलानो पार्टीबाट उठ्ने कि, यो पार्टीबाट उठ्ने रे, यो क्षेत्रबाट उठ्ने रे, त्यो क्षेत्रबाट उठ्ने रे भन्ने पनि आयो सञ्चारमाध्यममा। तर, म यो स्पष्ट पार्न चाहन्छु कि मैले अहिलेसम्म चुनावमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन, आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता गरेको छैन, छलफल गरेको छैन, आउँछु भनेको छैन, जान्छु भनेको छैन, मैले केही भनेको छैन,’ उनले भने। 

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान सफल रूपमा चुनाव गराउनु रहेको बताउँदै मन्त्री खरेलले आफ्नो ध्यान चुनावमै केन्द्रित रहेको प्रस्टीकरण दिए।

सुझावित समाचार