मुक्तिनाथ विकास बैंक २०औँ वर्षमा : शैक्षिक सामग्री वितरण तथा कर्मचारीलाई सम्मान

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेड १९औँ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले गत शनिबार केन्द्रीय कार्यालय काठमाडौंसहित क्षेत्रीय कार्यालय जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । रक्तदानबाट ७५५ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चारगृहलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, ‘सन् २०५० मा मेरो नेपाल’ शीर्षकमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीबिच राष्ट्रव्यापी चित्रकला प्रतियोगिता पनि आयोजना गरेको छ । प्रतियोगितामा सर्वोत्कृष्ट भएकी काठमाडौंकी रिया खड्काले प्रथम स्थानसहित ५० हजार रुपैयाँ प्राप्त गरिन् । हरेक क्षेत्रीय कार्यालयअन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले सातवटै प्रदेशका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति, विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेसनरी सामग्री वितरण, बागमती सफाइ महाअभियानलाई सफाइ सामग्री हस्तान्तरणलगायतका कार्यक्रम गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पूरा गरेका ४७ कर्मचारीलाई सम्मान पनि गरिएको बैंकले जनाएको छ । 

सुझावित समाचार