सिट्रस ग्रिनिङ रोगका कारण सुक्न थाले सल्यानमा सुन्तलाका बाेट

उत्पादनमा २५ प्रतिशत कमी

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

सल्यान बागचौर नगरपालिका–८, कोटमौलाका भरतनाथ योगीले सुन्तला खेती गर्न थालेको करिब चार दशक भयो । सुरुमा घरपरिवारमै खानका लागि २–४ बोट सुन्तला लगाएका योगीसँग अहिले ९५० बोट छन् । गएको सिजनमा ४३७ क्विन्टल सुन्तला बेचेर करिब ३३ लाख रुपैयाँ आम्दानी गरेका योगीमा यस वर्ष त्यति उत्साह छैन ।

यस वर्ष चिचिला लाग्दैदेखि समस्या देखिनुका साथै पछि बोट सुक्न थालेपछि उनी पिरोलिएका हुन् । ‘आम्दानीको स्रोत भनेकै सुन्तला खेती हो, वर्षमा लाखौँ आम्दानी हुन्छ, घर खर्च र बचत यहीँबाट हुने हो । स्थानीयले रोजगारी यसैबाट पाउने हुन् । यो वर्ष राम्रो फल लागेन, आधा जति सानो फल छ । मुस्किलले तीन सय क्विन्टल हुन्छ कि भन्ने आशा छ, बेच्न थालेको छैन, व्यापारी आए भने मूल्य निर्धारण हुन्छ,’ उनले भने, ‘विगतमा पनि अलिअलि समस्या थियो, गत भदौबाट सुन्तलामा धेरै समस्या आयो, पात पहेँलो हुने, बोट सुक्ने समस्या देखिएको छ ।’

डाँगीगाउँका जीवन डाँगीले पनि सुन्तला रोपेको तीन दशक भयो । मकै, गहुँ रोप्ने बारीका छेउघारीमा सुन्तला रोपेका उनले व्यावसायिक खेती गर्न थालेको भने एक दशक भयो । गएको वर्ष दुई सय क्विन्टल सुन्तला बेचेर करिब १८ लाख आम्दानी गरेका उनको उत्पादनमा यस वर्ष ७५ प्रतिशतले गिरावट आएको छ । यस वर्ष ५० क्विन्टल सुन्तला बनाउन पनि धौ भएको उनको भनाइ छ ।

४५० बोट सुन्तला भएको उनको बगैंचामा पनि सुन्तला झर्ने, पात पहेंलो हुने, हाँगा सुक्ने र अन्ततः बोट नै सुक्ने समस्या देखिएको छ । ‘बगैंचामा समस्या देखिएपछि कृषि कार्यालयमा जानकारी गराएका थियौं, निलोतुथो, चुनालगायतका तत्व राख्यौं, तर केही पार लागेन । मेरो त आधा बगैंचा सखाप भइसके,’ उनले भने, ‘राम्रो आम्दानी हुने आशले सुन्तला खेतीमा लागेका हौँ, जलवायु परिवर्तनले होला, पहिले तल्लो भेगका सुन्तलामा देखिने रोग अहिले माथिल्लो भेगमा पनि सरेको छ ।’ रोगको व्यवस्थापन नभए सुन्तला खेती नै सखाप हुने उनको भनाइ छ ।

८–१० वर्षदेखि सुन्तला खेती थालेका बथानका प्रेमप्रकाश शर्माको बगैंचामा पनि सोचेअनुसारको फल छैन । उनको १५० बोट सुन्तलाबाट गतवर्ष १० क्वीन्टल उत्पादन भएको थियो । ‘मैले रोपेका बोट जवान भइसकेका छैनन् गतको वर्ष ठिकै थियो, यो वर्ष फल नै लागेन, लागेको पनि झरेर सखाप भयो,’ उनले भने, ‘नयाँ बगैंचा विस्तार गरेकाले अर्को वर्ष राम्रो उत्पादन र आम्दानी हुन्छ भन्ने आश गरेको छु ।’

उत्पादन घट्ने निश्चित
रोगका कारण यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा कमी आएको छ । बगैंचामा रोगको प्रकोप बढेसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब २५ प्रतिशतले उत्पादनमा गिरावट आउने कृषि विकास कार्यालय सल्यानको अनुमान छ । अहिले करिब ३५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ भने कोटमौलालगायत क्षेत्रमा सुन्तला टिप्नै बाँकी रहेकाले आधिकारिक तथ्यांक आउन केही समय लाग्ने छ । सुन्तला उत्पादन हुने कोटमौला, चाँदे, दमाचौर, फलाबाङलगायतका क्षेत्रको निरीक्षणले उत्पादन घट्ने निश्चित भएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए । 

जिल्लामा पुराना र साना बिरुवासहित एक हजार ६७५ हेक्टरमा सुन्तला खेती छ । आर्थिक वर्ष ०८१/०८२ को तथ्यांक हेर्दा सुन्तला उत्पादन दिने क्षेत्रफल एक हजार दुई हेक्टरमा खेती गरिएको थियो । जसबाट आठ हजार ६ सय दुई मेट्रिकटन सुन्तला उत्पादन हुँदा करिब ४१ करोड रुपैयाँ किसानले हात पारेका थिए ।
अघिल्लो वर्ष ९८२ हेक्टरमा सुन्तला खेती गरिदा सात हजार ४८० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष भने करिब ६ हजार पाँच सय मेट्रिक टन उत्पादन हुने आँकलन गरिएको छ ।

सिट्रस ग्रिनिङ रोगको चुनौती
सुन्तलामा देखिने अत्यन्त हानिकारक ब्याक्टेरियाजन्य रोग सिट्रस ग्रिनिङले सल्यानका किसानलाई गम्भीर समस्यामा पारेको छ । यो रोग सिट्रस सिल्ला नामक कीराबाट सर्ने गर्छ, जुन प्रायः ११०० मिटरभन्दा कम उचाइका तातो क्षेत्रमा बढी पाइने भए पनि जिल्लाको करिब १५०० मिटर उचाइसम्म फैलिएको छ । यसले एकपटक बगैंचामा प्रवेश गरेपछि समयमै नियन्त्रण गर्न नसके सम्पूर्ण बगैंचा नष्ट बनाउँछ । यो रोग लाग्दा पातको नशाबिचको भाग पहेंलो हुने तर नशा हरियै देखिने, पात सानो हुने तथा बोट टुप्पोबाट सुक्न थाल्ने लक्षण देखिन्छन् ।

यस्ता लक्षण जिंकको कमीसँग मिल्दोजुल्दो भए पनि जिंक प्रयोग गर्दा सुधार नआएमा सिट्रस ग्रिनिङ रोग भएको बुझ्न सकिन्छ । रोगी बोटमा बेमौसममा फूल र फल लाग्ने, फल सानो र आकर्षणहीन हुने, गुदी असमान हुने तथा बिउ राम्रो नबन्ने समस्या देखिन्छ । यसले उत्पादन क्रमशः घट्दै अन्ततः बोट नै सुक्ने अवस्था ल्याउँछ ।

केही समयअघि जिल्लाका ५० सुन्तला बगैंचाको नमूना संकलन गरी पिसिआर परीक्षण गरिएको थियो । तीमध्ये ३५ को रिपोर्ट पोजेटिभ आयो । यस रिपोर्टले जिल्लाका सुन्तला बगैंचाको समयमै उचित व्यवस्थापन अनिवार्य देखाएको छ ।

रोगको उपचार छैन, रोकथाम नै प्रभावकारी उपाय : कृषि कार्यालय
कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यका अनुसार यो रोगको हालसम्म कुनै उपचार छैन । त्यसैले रोकथाम नै प्रभावकारी उपाय हो । रोगमुक्त र प्रमाणित बिरुवा प्रयोग गर्ने, रोगी बोट तुरुन्त नष्ट गर्ने, स्क्रिन हाउसमा बेर्ना उत्पादन गर्ने तथा सिट्रस सिल्ला कीराको नियमित निगरानी र व्यवस्थापन गर्नुपर्ने सुझाव उनको छ । समयमै सचेतना अपनाएमा यस रोगको जोखिम न्यून गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘रोग लागेका बोट हटाउनु पर्छ, तर एउटा किसानले गरेर हुँदैन् । यो ब्याक्टेरियाबाट सर्ने भएकाले छिमेकीको बगैंचाबाट सर्ने सम्भावना पनि उतिकै हुन्छ, यसमा सबै किसान लाग्नुपर्छ ।’ जिल्लामा गुलाबी रोगसँगै सिट्रस ग्रिनिङ रोग तीव्ररूपमा फैलिएको छ ।
 

सुझावित समाचार