नेपाल लाइफको लाभांश पारित

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा भएको कार्यक्रम वीरगन्जमा गरिएको हो । यो सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश पारित गरिएको छ । जसमा १६.०५ प्रतिशत नगद लाभांश (लाभांशको करसहित) र पाँच प्रतिशत बोनस सेयर प्रदान रहेको छ । 

सभाले आव ०८१/८२ को वार्षिक कार्यप्रगति प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ भने चालू आवका लागि लेखा परीक्षक पनि नियुक्त गरेको बताइएको छ । त्यस्तै, साधारणसभाले संस्थापक समूहअन्तर्गत गोविन्दलाल संघई, कमलेशकुमार अग्रवाल र विवेककुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभापछि शनिबार नै बसेको सञ्चालक समितिको बैठकले गोविन्दलाल संघईलाई सर्वसम्मतिबाट अध्यक्षका रूपमा चयनसमेत गरेको कम्पनीले जानकारी दिएको छ ।

अध्यक्ष संघईले निरन्तर सहयोग, संरक्षकत्व र शुभेच्छा प्रदान गर्ने सबै सेयरधनी महानुभाव र कम्पनीका सम्पूर्ण बिमितलाई सञ्चालक समितिको तर्फबाट आभार प्रकट गरे । कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले वर्तमान म्याक्रो इकोनोमिक परिस्थितिले गर्दा बिमा व्यवसायका आगामी दिन थप चुनौतीपूर्ण हुने हुँदा सम्पूर्ण सरोकारवालाले एक ढिक्का भएर कार्यसम्पादन गर्न आग्रह गरे । प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गत आवमा हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाबारे प्रकाश पारे । 

सुझावित समाचार