निजी क्षेत्रको मनोबल माथि उठाउने कार्यक्रम ल्याउन व्यवसायीहरूको माग

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण

उद्योग व्यापार संघ बुटवलको सातौँ वार्षिक साधारणसभामा सहभागी रुपन्देहीका अगुवा व्यवसायीहरूले सरकारले निजी क्षेत्रको मनोबल बढाउने कार्यक्रम ल्याउन माग गरेका छन् । पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर हुँदै गएका कारण मनोबल बढाउने गरी सरकार अगाडि बढ्नुपर्ने उनीहरूको जोड छ ।

कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले सरकारले कर र भन्सार नीतिमा सुधार ल्याउनुपर्ने र साना तथा मझौला व्यवसायीमैत्री हुनुपर्ने बताए । सरकारले तथ्यांक विश्लेषण गरेर आयात नीति बनाउन अपरिहार्य रहेकोमा उनले जोड दिए । संविधानमै स्पष्ट रूपमा व्यवस्था भएको समाजवादउन्मुख अर्थतन्त्र निर्माणमा सरकार र राजनीतिक दलहरूले ध्यान नदिएको महासचिव पराजुलीको गुनासो छ । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समग्र निजी क्षेत्र फस्टाए मात्र देशको आर्थिक समृद्धि सम्भव हुने धारणा राखे । उनले बुटवललाई समृद्ध बुटवल बनाउन सबै लागि पर्नुपर्नेमा जोड दिए ।

उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संघले व्यवसायीका हक हितसँगै स्थानीय सरकारसँग सहकार्य गरेर विभिन्न सामाजिक काम गर्दै आएको बताए । उनले संघको सचिवालय भवनका लागि जग्गा व्यवस्थापनमा सहयोग गरिदिन उपमहानगरसँग आग्रह गरे।

नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गणेश अधिकारी, नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य गोविन्दराज गैरे, संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जिसी, महासचिव यमलाल मरासिनी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, युवराज पराजुलीलगायतले जेन–जी विद्रोहपछि खस्केको निजी क्षेत्रको मनोबल माथि उठाउन सरकारले विशेष नीति, योजना र कार्यक्रम बनाउनुपर्ने बताए।

सुझावित समाचार