अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेको छ। त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई समेत पक्राउ गरिएको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाले ठुलो आक्रमण गरेर मदुरोदम्पतीलाई पक्राउ गरेको दाबी गरेका हुन्। अमेरिकी सञ्चारमाध्यमले डेल्टा फोर्सले मदुरोलाई पक्राउ गरेको उल्लेख गरेका छन्। यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी कराकासमा ठुलो विस्फोटकाे आवाज आएको छ। भेनेजुएलाले अमेरिकामा लागुऔषध तस्करी गर्दै आएको आरोप ट्रम्पले लगाउँदै आएका छन्। मदुरो गैरकानुनी रूपमा त्यहाँ निर्वाचित भएको भन्दै उनले राजीनामा दिन दबाब दिँदै आएका थिए। यसअघि क्यारेबियनमा धेरै भेनेजुएलाका डुंगामा लागुऔषध रहेको भन्दै अमेरिकी फाैजले आक्रमण गरेको थियो।
अमेरिकाको आक्रमणपछि भेनेजुएलामा संकटकाल घोषणा गरिएको छ। सबै सुरक्षाकर्मीलाई परिचालन गरिएको छ। अमेरिकाले आफ्नो देशका खानी कब्जा गर्न यसरी धम्की दिँदै आएको मदुराेले बताउने गरेका थिए।