- आधा क्षमतामा पनि चल्न सकेका छैनन् उद्योग–कलकारखाना, ०८०/८१ मा ४८.३% रहेको उद्योगको क्षमता उपयोग ०८१/८२ मा थप घटेर ४४.५% मा सीमित रहेको राष्ट्र बैंकको तथ्यांक
- ३५ हजार रोजगारी दिने गरी गत वर्ष दर्ता भए सात सय उद्योग
- १९ खर्ब ९९ अर्ब ४९ करोड कर्जा प्रवाह जुन अघिल्लो वर्षको तुलनामा ११.९५ प्रतिशतले बढी
गत आर्थिक वर्ष ०८१/८२ मा उद्योगको क्षमता उपयोग ३.८ प्रतिशत घटेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्र बैंकबाट जारी आर्थिक गतिविधिसम्बन्धी एकीकृत प्रतिवेदनअनुसार अघिल्लो आव ०८०/८१ मा देशभरका उद्योगको औसत क्षमता उपयोग ४८.३ प्रतिशत थियो । गत आव भने उद्योगहरूको औसत क्षमता उपयोग ४४.५ प्रतिशतमा सीमित भएको छ । टायर तथा ट्युब उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९०.७ प्रतिशत रहेको छ । सबैभन्दा कम वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग १.१० प्रतिशत मात्रै छ ।
कोशी प्रदेशका उद्योगको क्षमता उपयोग ५०.६ प्रतिशत, मधेशको ५५.०१ प्रतिशत, बागमतीको ३८.७ प्रतिशत, गण्डकीको ३९.१९ प्रतिशत, लुम्बिनीको ४८.४ प्रतिशत, कर्णालीको ४४.८ प्रतिशत र सुदूरपश्चिमको ३७.२४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय कायम आर्थिक शिथिलताका कारण नेपालमा वस्तु तथा सेवाको माग घटेको छ । सोही कारण उद्योगहरू उत्पादन घटाउन बाध्य भएकाको प्रतिवेदनमा उल्लेख छ ।