सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म सबैभन्दा धेरै यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत भएको छ । यहाँबाट २० लाख तीन हजार ६ सय ७२ यात्रु नेपाल भित्रिएका तथा २० लाख ९४ हजार आठ सय ७७ जना यात्रु बाहिरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुल ४० लाख ९८ हजार पाँच सय ४९ जना यात्रुको आवतजावत भएको छ ।
त्यसैगरी, विमानस्थलको आन्तरिक उडानतर्फ ११ महिनामा ३७ लाख १८ हजार आठ सय यात्रुको आवतजावत भएको छ । आन्तरिक उडानमार्फत १७ लाख ८२ हजार तीन सय ७४ यात्रु आगमन भएका छन् भने १९ लाख ३६ हजार चार सय २६ यात्रु प्रस्थान गरेका छन् ।नयाँ अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फ १३ हजार चार सय ३२ यात्रुको आवतजावत भएको छ । आन्तरिक उडानतर्फ भने ६ लाख ७५ हजार तीन सय ३४ यात्रुले सेवा लिएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सात लाख ९८ हजार ७९१ यात्रुको आवतजावत भएको तथ्यांकले देखाएको छ । यसमध्ये तीन लाख ८३ हजार सात सय ५७ यात्रु आगमन भएका छन् भने चार लाख १५ हजार ३४ यात्रु प्रस्थान गरेका छन् ।त्यसैगरी, विराटनगर विमानस्थलबाट ६ लाख ६९ हजार चार सय ३४ यात्रु र नेपालगन्ज विमानस्थलबाट चार लाख ९८ हजार एक सय ९६ यात्रुको आवतजावत भएको छ । नेपालले हालसम्म ४२ देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको छ ।