बुटवलमा ३ पुसदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–०८२ मा ३० करोड बराबरको कारोबाार भएको छ । बिहीबार सम्पन्न भएको प्रदर्शनीमा आठ लाख दर्शकले भ्रमण गरेको आयोजकले बताएको छ ।
रुपन्देही उद्योग संघको आयोजनामा सञ्चालन भएको महोत्सवको समापन कार्यक्रम संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले प्रर्दशनी यस क्षेत्रको आर्थिक, औद्योगिक, सामाजिक तथा साँस्कृतिक विकासमा कोसेढुंगा बन्दै आएको बताए । औद्योगिक प्रर्दशनीको सस्थागत जग बसाल्दै संघले प्रर्दशनीलाई ब्राण्डका रुपमा स्थापित गराएको बताए ।
यसपटकको प्रर्दशनीमा मुलुकलाई सम्वृद्धिको दिशामा अगाडी बढाउन विभिन्न किसिमका छलफल तथा वहस कार्यक्रम सञ्चालन गरेको उनले बताए । यस्तै, प्रदर्शनीले उत्पादक र उपभोक्ताबिचको सम्बन्धलाई मजबुत बनाउन टेवा पु¥याएको उनले बताए । प्रदर्शनीमा स्वदेशी उद्योगबाट उत्पादित सामाग्रीका ४५० वटा व्यावसायिक स्टल थिए । सहभागी स्टलधनीहरू अधिकांशले सोँचेजस्तै राम्रो कारोबार भएको जनाएको कोषाध्यक्ष विशाल बेलवासेले जानकारी दिए ।
प्रदर्शनी समापन समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लगानीको वातावरण बनाउने विषयलाई गम्भीर रूपमा बुझेको र प्रदेश सरकारले सधैं उद्योगी र व्यवसायीको पक्षमा आवाज उठाउँदै आएको धारणा राखे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, सचिव अशोक कुँवर, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए । प्रदर्शनीको प्रतिवेदन प्रस्तुत गर्दै महासचिव सुमन बस्यालले प्रदर्शनीले उत्पादक र उपभोक्ताबिचको सम्वन्धलाई मजबुत बनाउन टेवा पु¥याएको बताए।
उत्कृष्टलाई सम्मान
प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमतर्फ मुख्य आकर्षण रहेको प्रदर्शनी आइडलमा पहिलो हुने बुटवल देवीनगर बस्ने लिट्स कलेजका विद्यार्थी एण्डिज लामिछाने, बुटवलको अक्सफोर्ड कलेजमा अध्ययनरत आर्यन श्रेष्ठ दोश्रो, एभरेष्टमा अध्ययनरत विशेष भूर्तेल तेस्रो भएका छन् ।
विभिन्न विधामा उत्कृष्ट उद्यमीहरूलाई पुस्कृत तथा सम्मान गरिएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए । उनका अनुसार औद्योगिक पेभेलियनमध्ये उत्कृष्ट भएका कपिलवस्तु ग्लास फाइबर इण्डष्ट्रिज, बुटवल औद्योगिक क्षेत्र सञ्चालक प्रमोद पोद्दार, बेकरी, आइसक्रिम तथा अचार पेभेलियनमध्ये उत्कृष्ट आकाश फुड्स, काठमाडौं डिष्ट्रिब्यूटर्सका उत्सव पाण्डे, स्वादिलो अचार तिलोत्तमाकी सञ्चालक ज्योति श्रेष्ठलगायत पुरस्कृत भएका छन् ।