नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

नेपाल पर्यटन बोर्ड (एनटिबी)ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ। बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपकराज जोशीले बुधबार काठमाडौंमा आयोजित बोर्ड स्थापना दिवस कार्यक्रममा आसियान (दक्षिण एसियाली मुलुक)लाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन्।

सिइओ जोशीका अनुसार हालसम्म एक लाख सात हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जुन नेपालका लागि ठुलो र दीर्घकालीन बजार हो । ‘बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिनेछ,’ उनले भने।

सिइओ जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो संख्या गत वर्षको तुलनामा करिब तीन प्रतिशतले वृद्धि भएको बताएका छन्। उनका अनुसार सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, २० भन्दा बढी माइस कार्यक्रम सम्पन्न भएका छन्।

उनले जेन–जी आन्दोलनपछिको अवधिमा आठवटा मुख्य पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत पर्यटन प्रवर्द्धन, नाै भाषामा यात्रा सूचना प्रकाशन, ६९ वटा पर्यटन पूर्वाधार विकास तथा पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा कार्यक्रम तथा विकास गतिविधि सञ्चालन गरिएको जानकारीसमेत दिएका छन्।

‘पर्यटन केवल एउटा कोर सेक्टर मात्र नभएर बहुक्रस सेक्टर क्षेत्र हो,’ जोशीले भने। सन् २०२५ मा विभिन्न क्षेत्रका दुई हजार ६ सय पेसागत जनशक्तिले तालिम प्रदान गरेको जानकारी दिँदै सिइओ जोशीले नीतिगत तहका अनुसन्धान, बजार–आधारित अध्ययन र सस्टेनेबल टुरिजम प्रोजेक्टअन्तर्गत कञ्चनजंघा, मनास्लु र अपी–साइपालका तीन प्रमुख ट्रेकिङ ट्रेलमा सम्भावना पहिचान, गुणस्तर अभिवृद्धि, रोजगारी र बजार सिर्जनामा काम भइरहेको जानकारी गराएका छन्। 

एनटिबीले सन् २०२६ लाई परिभाषित गर्ने सात प्रमुख यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ, जसमा– स्वरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईमार्गभन्दा सडक, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य र संस्कृति प्राथमिकतामा रहने उल्लेख छ ।

आगामी मार्गचित्र प्रस्तुत गर्दै जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय र वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने तथा उच्च मूल्य पर्यटनमा केन्द्रित हुने स्पष्ट गरेका छन् ।

त्यसैगरी बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले बोर्डले नतिजा दिने गरी काम गरिरहेको उल्लेख गर्दै निजी क्षेत्र र सरकारसँग समन्वय हुने गरी कार्यक्रमहरू केन्द्रित गरिएको जानकारी गराएका छन् । त्यसैगरी बोर्डका कर्मचारी संगठनका अध्यक्ष सन्तोषविक्रम थापाले कर्मचारीको वृत्ति विकास, आर्थिक विनियमावलीमा सुधार र कर्मचारी पदपूर्तिमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा पाटा सिइओ नूरअहमद हमिद, वर्ल्ड टुरिजम नेटवर्क र युएन टुरिजमबाट भिडियो सन्देश जारी गरिएको छ । त्यसैगरी कार्यक्रमका अवसरमा बोर्डको वार्षिक प्रकाशन इन–फोकस पनि विमोचन गरिएको छ ।

सुझावित समाचार