कर्णाली नदीको बहावले भत्काएको तटबन्ध पुनर्निर्माणको कामले लियो गति

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकामा कर्णाली नदीको बहावले तटबन्ध बगाएर उच्च जोखिममा रहेको स्थानमा तटबन्धको पुनर्निर्माणको कामले गति लिएको छ । 

गत साउन र भदौमा कर्णाली नदीमा पानीको बहाव बढेर राजापुर नगरपालिका– ४, दलाईघाट र गेरुवा गाउँपालिका– २, बनघुस्राको तटबन्ध भत्काएर कटान सुरु गरेको थियो। पानीको बहावले तटबन्ध बगाएर बाँध भत्किन थालेपछि  स्थानीयले (बेगारी प्रथा)मार्फत श्रमदान गरेर तत्काल तटबन्ध कटानलाई रोक्न काम गरेका थिए भने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजापुरले तटबन्ध कटानबाट रोक्न  बिग बोल्डर (ठुला ढुंगा) प्रयोग गरेर बाँध जोगाएको थियो । 

साउनमा कटान भएको राजापुर नगरपालिका– ४ को दलाईघाटमा तटबन्ध पुनर्निर्माणका कामका लागि भागेश्वर मञ्जलासैना जेभीसँग खरिद सम्झौता गरी तटबन्ध पुनर्निर्माणको कामलाई अगाडि बढाइएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजापुरका इन्जिनियर एवं सूचना अधिकारी सञ्चितकुमार साहले बताए ।

उनले भने, ‘तटबन्ध पुनर्निर्माणको काम ६४ प्रतिशत सम्पन्न भइसकेको छ । तटबन्ध पुनर्निर्माणको काम निर्माण कम्पनीले ०८३ असार मसान्तमा सक्ने गरेर पाँच करोड ३१ लाख रुपैयाँमा सम्झौता भएको छ। निर्माण कार्य तोकिएको समय अवधिभित्र सकेमा तत्काललाई दलाईघाट क्षेत्रको केही भाग सुरक्षित राख्न सकिन्छ ।’

त्यसैगरी भदौ महिनामा कर्णाली नदीको बहावले गर्दा गेरुवा गाउँपालिका– २, बनघुस्रामा भत्काएको तटबन्ध पुनर्निर्माणको काम भइरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, राजापुरले जनाएको छ ।

 तटबन्ध पुन: मर्मतसम्भारका काम शाही र नवयुग जेभीले एक करोड ८१ लाख रुपैयाँमा खरिद सम्झौता गरेर काम गरिरहेको आयोजनका इन्जिनियर एवं सूचना अधिकारी साहले बताए । उनले भने, ‘तटबन्ध पुनर्निर्माण एवं मर्मतसम्भारकाे कामको भौतिक प्रगति अहिलेसम्म ३६ प्रतिशत भएको छ ।’

सुझावित समाचार