भारतले आफ्नो इनर्जी एक्सचेन्ज मार्केट (आइइएक्स)बाट विद्युत् खरिद गर्न नेपाल विद्युत् प्राधिकरणलाई दिएको म्याद बुधबार सकिँदै छ । भारतले गत असोजमै १,०५४ मेगावाट विद्युत् खरिद गर्न पाउने गरी ३१ डिसेम्बर अर्थात् १६ पुससम्मको म्याद राखेर प्राधिकरणलाई स्वीकृति पठाएको थियो । यो म्याद सकिएपछि नेपालले विद्युत् आयात गर्न भारतले नयाँ अनुमति दिनुपर्छ । तर, मंगलबार कार्यालय समयसम्म भारतले नयाँ अनुमति पठाएको छैन । प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘मंगलबारसम्म नयाँ अनुमति आउनुपर्ने हो । दिउँसो भारतसँग यस विषयमा कुराकानी भएको पनि थियो । तर, कार्यालय समयसम्म भारतले नयाँ अनुमति पठाएको छैन । भारतले मंगलबार राति वा बुधबार नयाँ अनुमति नपठाएको अवस्थामा नेपालको विद्युत् आपूर्ति प्रभावित हुन सक्छ ।’
तर ऊर्जासचिव चिरञ्जीवी चटौतले यसबारे मन्त्रालयमा कुनै जानकारी नआएको बताए । ‘यस सम्बन्धमा मन्त्रालयमा कुनै जानकारी आएको छैन । आएको अवस्थामा आवश्यक सहजीकरण हुनेछ,’ उनले बताए । भारतबाट विद्युत् आयात गर्नका लागि त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरण (डेजिक्नेटेड अथोरिटी)बाट अनुमति लिनुपर्छ । उक्त अथोरिटीले विद्युत् आयात गर्न पाउने कोटा, समय र अवधि तोकेर अनुमति दिन्छ । त्यसपछि मात्रै प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न पाउँछ ।
अहिले नेपालमा विद्युत्को जडित क्षमता चार हजार मेगावाटभन्दा माथि छ । अधिकतम माग भने २२ सय मेगावाट छ । तर, हिउँदमा विद्युत्को उत्पादन न्यूनतम एक हजार मेगावाटसम्म झर्छ । त्यो वेला स्वदेशी माग धान्न भारतबाटै विद्युत् आयात गर्नुको विकल्प हँुदैन । भारतले गत वर्ष २० नोभेम्बरदेखि १५ मार्च (४ मंसिर–२ चैत)सम्म ६ सय ५० मेगावाट विद्युत् खरिद गर्न स्वीकृति दिएको थियो । तर, त्यसवेला पिक आवरमा विद्युत् आयात गर्न नपाउने सर्त थियो । १६ मार्चदेखि ३० जुन (३ चैतदेखि १६ असार)सम्मका लागि भने बिहान ६ देखि साँझ ६ बजेसम्म (दैनिक १२ घण्टा) मात्रै ६ सय ५४ मेगावाट विद्युत् आयात गर्न स्वीकृत दिएको थियो । पछि विभिन्न पहलपछि राति ११ देखि बिहान चार बजेसम्म विद्युत् आयात गर्न पाउने सुविधा थप गरिएको थियो ।
पिटिसीसँग सम्झौता गरेको विद्युत् पनि ल्याउन दिइएन
मंगलबारसम्म भारतले पिटिसी इन्डियासँग सम्झौता गरेको विद्युत् ल्याउन पनि अनुमति दिएको छैन । हिउँदको विद्युत् मागलाई सम्बोधन गर्न सहज हुने गरी प्राधिकरणले गत असोजमै पिटिसी इन्डियासँग एक सय ८० मेगावाट विद्युत् खरिद गर्ने गरी पिपिए गरेको थियो । १ जनवरीदेखि ३० मेसम्म निर्बाध रूपमा एक सय ८० मेगावाट विद्युत् खरिद गर्ने गरी सम्झौता गरिएको छ । प्राधिकरणले प्रतियुनिट ६.९५ भारुमा विद्युत् खरिद गर्ने गरी सम्झौता गरेको छ । त्यसअनुसार विद्युत् ल्याउन पनि डेजिक्नेटेड अथोरिटीबाट अनुमति लिनुपर्छ । तर, मंगलबारसम्म डेजिक्नेटेड अथोरिटीले अनुमति नपठाएको स्रोतको भनाइ छ । जबकि, प्राधिकरणले यसअन्तर्गत १ जनवरी अर्थात् बिहीबारदेखि एक सय ८० मेगावाट पाउनुपर्नेछ । तर, डेजिक्नेटेड अथोरिटीले स्वीकृति नदिएका कारण त्यो पनि अन्योलमा परेको स्रोतको भनाइ छ ।