५० लाख ग्राहकलाई सेवा दिने गरी पोखरामा एनसेलको भोल्टे परियोजना

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

एनसेलले ५० लाख ग्राहकलाई सेवा दिने गरी पोखरामा भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धि परियोजना सञ्चालन गरेको छ। आफ्नो क्षमता अभिवृद्धिसँगै एनसेलले पोखराको डाटा सेन्टरमार्फत अब ५० लाख सक्रिय ग्राहकलाई भोल्टे सेवा प्रदान गर्न सक्ने भएको छ। 

दूरसञ्चारमा उन्नत प्रविधिको रूपमा रहेको भोल्टेले फोज–जी नेटवर्क प्रयोग गरेर छिटो कल कनेक्टिभिटीको साथ उच्च गुणस्तरको हाई डेफिनेसन (एचडी) भ्वाइस सेवाहरू प्रदान गर्ने एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्लीराम श्रेष्ठले जानकारी दिए।

एनसेलले भ्वाइस ओभर वाइफाई (भोवाइफाई) सेवासमेत सञ्चालनमा ल्याएको छ। भोवाइफाई एउटा यस्तो प्रविधि हो जसले प्रयोगकर्ताहरूलाई कुनै पनि वाइफाई जडानमार्फत आफ्नो एनसेल नम्बर प्रयोग गरेर कल गर्न र प्राप्त गर्न अनुमति दिन्छ। जसले गर्दा प्रयोगकर्ताहरूले मोबाइल सिग्नल कमजोर भएका क्षेत्रहरूमा समेत एचडी भ्वाइस कल गर्न र एसएमएस पठाउन सकिने र स्थिर वाइफाई जडान हुने श्रेष्ठले बताए।

सन् २०१२ मा स्थापना भई सञ्चालनमा ल्याइएको डाटा सेन्टरले नेपालको दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको जानकारी दिँदै उनले भोल्टे क्षमता वृद्धिसँगै समर्थित थप ग्राहकहरूलाई आधुनिक भोल्टे सेवाहरूसमेत विस्तार गर्ने उनले जानकारी दिए।

भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उद्घाटन गर्दै नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एनसेलले सञ्चालनमा ल्याएको यस प्रकारका आधुनिक पूर्वाधारले डिजिटल नेपाल निर्माण गर्ने सरकारको लक्ष्यमा सँगै योगदान पुर्याइरहेको बताए। नेपालको डिजिटलाइजेसन अभियानलाई सहयोग गर्ने प्रमुख पूर्वाधारमध्ये एनसेलको पोखरास्थित डाटा सेन्टरसमेत एक रहेको भन्दै उनले सेन्टरको व्यवस्थापन र सञ्चालनको प्रशंसा गरेका थिए।

एनसेलका कर्पोरेट सञ्चार तथा दिगोपन निर्देशक विशाखालक्ष्मी खड्काले पोखरा सेन्टर हाल विपत् पुनर्प्राप्ति केन्द्रको रूपमा सञ्चालनमा रहेको जानकारी दिइन्।

मन्त्री खरेललाई एनसेलका तर्फबाट श्रेष्ठ र खड्कासँगै प्राविधिक टोलीले केन्द्रको क्षमता, प्राविधिक पक्षहरू र नेपालको दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा समग्र भूमिकाबारे जानकारी गराएका थिए।

सुझावित समाचार