सामसङ इनोभेसन क्याम्पस (एसआइसी) नेपालले एआई, बिग डेटा र कोडिङ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम २७ जुनदेखि २०२५ डिसेम्बरसम्म सञ्चालन भएको थियो ।
यससँगै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरु भएको पनि सामसङले जनाएको छ । यस कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान तथा नेक्स्ट–जेनेरेसन प्रविधिमा अनुभव प्रदान गरेको बताइएको छ ।
सन् २०२३ देखि एसआइसीले युवालाई भविष्य–तयार सीप प्रदान गरी नवप्रवर्तनकर्ता र समस्या समाधानकर्ताको नयाँ पुस्ता विकास गर्न सशक्त बनाउँदै आएको छ । कार्यक्रमका क्रममा स्नातक भएका विद्यार्थीलाई उनीहरूको उपलब्धिको कदरस्वरूप प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
स्नातक भएका विद्यार्थीको उपलब्धि उत्सव मनाउनुका साथै समारोहमा एसआइसीको पाठ्यक्रमअन्तर्गत कोडिङ तथा प्रोग्रामिङ कोर्स सुरु गर्न लागेका नयाँ विद्यार्थीलाई पनि स्वागत गरिएको छ ।
‘सामसङ इनोभेसन क्याम्पसमार्फत हामी नेपालको बढ्दो डिजिटल अर्थतन्त्रमा नेतृत्व, नवप्रवर्तन र अर्थपूर्ण योगदान दिन युवालाई सशक्त बनाउने हाम्रो प्रतिबद्धता कायम राख्छौँ,’ सामसङ नेपालका म्यानेजिङ डाइरेक्टर चाङ उक जङले भने ।