दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहलगानीअन्तर्गतको बबई लिफ्टिङका लागि निर्माण थालिएको अन्डरग्राउन्ड ट्यांकी व्यक्तिको जग्गामा परेपछि रोकिएको निर्माण कार्य अब अघि बढ्ने भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित अञ्चल प्रहरी कार्यालयको अगाडि निर्माण गर्न थालिएको ट्यांकी सोही ठाउँका सुन्दर लामिछानेको जग्गामा परेपछि विवाद थियो ।
सोही जग्गासँग सटेको ऐलानी जग्गामा ट्यांकी निर्माण गर्नुपर्ने भए पनि अमिनले नाप्दा व्यक्तिको जग्गामा नापिदिएपछि त्यहीँ नै ट्यांकी निर्माण थालिएको थियो । ट्यांकी निर्माणकै काम करिब ७५ प्रतिशत पूरा भइसकेको थियो । करिब ४० लाखमा निर्माण हुन लागेको उक्त ट्यांकी निर्माणका क्रममा २६ लाखभन्दा बढी खर्च भइसकेको थियो । तर, पछि जग्गाधनीले अमिन ल्याएर नाप्दा आफ्नो जग्गामा परेको थाहा पाएपछि अदालतमा मुद्दा हालेका थिए । त्यसपछि काम अघि बढ्न सकेको थिएन ।
सोमबार तुलसीपुरमा उक्त ट्यांकी निर्माण जग्गा खरिदसम्बन्धी सार्वजनिक सुनुवाइ गरी लामिछानेको जग्गालाई ८० लाख दिने गरी सहमति भएको छ । सोही मूल्यमा लामिछानेले खानेपानीलाई एक कठ्ठा जग्गा उपलब्ध गराउने गरी सहमति भएको हो । यसअघि लामिछानले सोही जग्गालाई डेढ करोड भन्दै आएका थिए । त्यसपछि एक करोडमा पनि छलफल भएको थियो ।
अन्तमा ८० लाखमा दिने गरी सहमति भएको थियो। ‘जग्गाको मूल्य त डेढ करोडभन्दा बढी छ, खानेपानीलाई भनेर ८० लाखमा दिने सहमति दिएको छु,’ जग्गाधनी लामिछानेले भने, ‘अब यसलाई छिटो प्रक्रिया पुर्याएर पैसा दिनुपर्यो ।’ उक्त ट्यांकी बबईबाट लिफ्टिङ गरेर ल्याइने पानीको मुख्य ट्यांकी हो । सोही ट्यांकी र एयरपोर्टस्थित निर्माण भएको ट्यांकीबाट अन्य सहायक ट्यांकीमा पानी वितरण गरिनेछ । यसरी मुख्य ट्यांकीकै काम अलपत्र रहेपछि यो समस्या समाधान गरेर तत्काल काम अघि बढाउने तयारी रहेको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । उनका अनुसार धेरै छलफलपछि ८० लाखमा जग्गा किन्ने गरी सहमति भएको हो । सरकारी जग्गा भनेर उपमहानगरपालिकाकै अमिनले भनेपछि सोही ठाउँमै ट्यांकी बनाएको उनको भनाइ छ ।
८० लाखमै किन्ने सहमति भइसकेकाले अब यसलाई खानेपानीले निर्णय गरेर प्रक्रिया अघि बढाउने तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीले बताए । निर्णयपछि सोही जग्गाबराबरको रकम जग्गाधनीलाई उपलब्ध गराएपछि ट्यांकी निर्माणको काम अघि बढ्ने उनको भनाइ छ । त्यही ट्यांकी निर्माण रोकिएकै कारण सहलगानीको काम प्रभावित भएको छ ।
अन्य काम करिब ८० प्रतिशत पूरा भइसके पनि सोही ट्यांकीकै विवादले गर्दा काम रोकिएको छ। अब सहलगानीको ठेक्काको म्याद सकिन पनि पाँच महिना जति मात्रै छ । त्यसबिचमा काम सक्ने गरी प्रक्रिया अगाडि बढाउने अध्यक्ष भण्डारीले बताए । सोही ट्यांकी निर्माणको काम अघि बढेमा तोकिएकै समयमा काम पूरा हुनेसमेत उनले बताए । मोतीपुर, कबर्डहल र एयरपोर्टको ट्यांकी निर्माण भइसकेका छन् । ५६ करोड ८० लाख २४ हजार ६३० रुपैयाँ लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो। नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो ।