दुई वर्षअघि भारतले प्रदान गरेको उन्नत नश्लका मुर्रा राँगाबाट ९० हजार सात सय ६६ डोज वीर्य उत्पादन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
भारतीय कृषि तथा किसान कल्याण मन्त्रालयसँग आइतबार र सोमबार काठमाडौंमा भएको दुई देशबिचको संयुक्त कृषिकार्य समूहको नवौँ बैठकमा कृषि मन्त्रालयले सो जानकारी गराएको हो । भारतले ०८० मंसिरमा नेपाललाई पशु नश्ल सुधारका लागि हरियाणास्थित हिसारमा रहेको केन्द्रीय भैँसी अनुसन्धान संस्थानबाट १५ वटा मुर्रा राँगा हस्तान्तरण गरेको थियो ।
नेपालले आठ थरीका कृषिजन्य वस्तुको प्रयोगशाला परीक्षणलाई भारतले मान्यता दिएकोमा पनि मन्त्रालयका अधिकारीहरूले खुसी व्यक्त गरेका छन् । त्यस्तै, नेपाली कृषिजन्य वस्तुलाई भारतीय बजारमा निर्बाध पहुँच सुनिश्चित गर्न पनि बैठकमा नेपाली अधिकारीले अनुरोध गरेको मन्त्रालयलले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
बैठकमा पेस भएका एजेन्डालाई कार्यान्वयन गर्न आगामी तीन महिनाभित्र द्विवार्षिक कार्ययोजना तयार गर्न दुवै पक्षबिच सहमति भएको छ । नेपालस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत बैठकमा द्विपक्षीय सहयोग विस्तारमा छलफल भएको जनाएको छ ।