गत आर्थिक वर्ष ०८१/८२ मा तीन तहका सरकारको सञ्चित कोष एक खर्ब आठ अर्ब ९९ करोड ६ लाख रुपैयाँले ऋणात्मक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सोमबार महालेखा परीक्षकको कार्यालयमा बुझाएको गत आवको एकीकृत वित्तीय विवरणले सञ्चित कोष ऋणात्मक देखाएको हो । यद्यपि, नगद अवस्था भने एक खर्ब चार अर्ब १३ करोड ८४ लाख रुपैयाँले धनात्मक रहेको छ ।
संघ, प्रदेश र स्थानीय सरकारहरू र एक्स्ट्रा बजेटरी निकायका विभिन्न कोषहरूको मौज्दात रकमका आधारमा नगद तथा बैंक मौज्दात एक खर्ब ८८ अर्ब ९४ करोड ५८ लाखले धनात्मक रहेको प्रतिवेदनमा उल्लेख छ ।
‘आव ०८१/८२ मा संघ, प्रदेश र स्थानीय सरकारहरूको सञ्चित कोषमा एक खर्ब आठ अर्ब ९९ करोड ६ लाखले ऋणात्मक रहे तापनि नगद अवस्था भने एक खर्ब चार अर्ब १३ करोड ८४ लाखले धनात्मक रहेको छ,’ महालेखाले जारी गरेको प्रतिवेदनमा भनिएको छ ।