निर्माण चरणमा अघि बढ्यो तमोर–मेवा जलविद्युत् आयोजना

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

लामो समयदेखि बहस, प्रतीक्षा र अनिश्चिततामा रहेको तमोर–मेवा जलविद्युत् आयोजना अन्ततः निर्माण चरणमा प्रवेश गरेको छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको मेवा खोला र तमोर नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजना ऊर्जा उत्पादनसँगै स्थानीय विकास र पूर्वी नेपालको समग्र आर्थिक रूपान्तरणसँग जोडिएको परियोजनाका रूपमा हेरिएको छ ।

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको प्रवद्र्धनमा निर्माण भइरहेको आयोजनाको सुरुमा १२८ मेगावाट क्षमतामा विकास गर्ने योजना थियो । तर, निर्माण चरणमा पुग्दा थप प्राविधिक अध्ययन र डिजाइन परिमार्जनपछि १७ मेगावाट विद्युत् थप हुने गरी आयोजना कुल १४५ मेगावाट क्षमताको बनाइँदै छ । प्रवर्द्धन कम्पनीका संस्थापक अध्यक्ष तथा सञ्चालक भानेन्द्रकुमार लिम्बूले हालसम्म आयोजनाको करिब २२ प्रतिशत भौतिक प्रगति भइसकेको बताए ।

निर्माण कार्य सुरु भएसँगै आयोजनास्थलमा कम्पनीको मुख्य कार्यालय, आयोजना शिविर, निर्माणस्थलसम्म पुग्ने पहुँच मार्गहरू निर्माण भइसकेका छन् । त्यस्तै, बालुवा थिग्राउने पोखरी, अडिट संरचना तथा करिब पाँच किलोमिटर लामो मुख्य सुरुङ निर्माण सुरु भएको छ । लक्ष्यअनुसार नै आयोजना सम्पन्न गर्ने गरी निर्माण कार्यलाई निरन्तरता दिने लिम्बूको भनाइ छ ।

कुल लागत २६ अर्ब
तमोर–मेवा जलविद्युत् आयोजनाको कुल लागत करिब २६ अर्ब रुपैयाँ अनुमान गरिएको छ । प्रारम्भिक चरणमा कुल लागतको २५ प्रतिशत रकम प्रवद्र्धक कम्पनीले आफ्नै लगानीबाट व्यवस्थापन गरेको छ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ । सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा माछापुच्छ्रे बैंक, नेपाल एसबिआई बैंकलगायत बैंक तथा वित्तीय संस्थाहरूले आयोजनामा ऋण लगानी गरेका छन् । ठूला बैंकहरूको सहभागिताले आयोजनाको वित्तीय विश्वसनीयता र कार्यान्वयन क्षमतामा विश्वास बढाएको उर्जा क्षेत्रका जानकारहरूको भनाइ छ ।

यस आयोजनाबाट वार्षिक करिब ७१४.३३ मिलियन युनिट, अर्थात् करिब ७१ करोड युनिट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ । यसमध्ये मनसुन तथा वर्षा सिजनमा करिब ६१९ मिलियन युनिट विद्युत् उत्पादन हुने र हिउँद तथा सुक्खायाममा करिब ९१ मिलियन युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यो आयोजना ‘रन–अफ–दि–रिभर’ प्रविधिमा आधारित भएकाले नदीको प्राकृतिक बहावअनुसार विद्युत उत्पादन हुनेछ । नेपालका अधिकांश नदीहरूमा वर्षा याममा पानीको बहाव अत्यधिक हुने र हिउँदमा घट्ने हुँदा उत्पादन पनि सिजनअनुसार फरक–फरक हुने गर्छ । तमोर नदी हिमाली क्षेत्रबाट उत्पन्न भएकाले वसन्त र गर्मीयाममा हिउँ पग्लेर आउने पानीले सुक्खा याममा पनि उत्पादनलाई केही हदसम्म सन्तुलनमा राख्ने अपेक्षा छ ।

उत्पादित सबै ऊर्जा प्राधिकरणले किन्ने सम्झौता
आयोजनाबाट उत्पादन हुने सम्पूर्ण विद्युत नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी बिक्री गरिनेछ । नेपाल विद्युत प्राधिकरणले वर्षा सिजनमा प्रतियुनिट ४.८० पैसाको दरले र सुक्खा सिजनमा प्रतियुनिट ८.४० पैसाको दरले विद्युत् खरिद गर्ने गरी पावर पर्चेज एग्रिमेन्ट (पिपीए) सम्पन्न भइसकेको छ । सिजनअनुसार फरक दर निर्धारण गरिएको यो सम्झौताले आयोजनाको आर्थिक स्थायित्व सुनिश्चित गर्ने र लगानीकर्तालाई दीर्घकालीन आम्दानीको आधार तयार गर्ने विश्वास गरिएको छ ।

आयोजनाको मुहान अर्थात मुख्य बाँध फुङ्लिङ नगरपालिका–१ दगुर्ने क्षेत्रमा निर्माण हुनेछ भने विद्युतगृह फुङ्लिङ नगरपालिका–३ स्थित तमोर नदी किनारको गुयेली क्षेत्रमा रहनेछ । आयोजनाका विभिन्न संरचनाहरू फुङ्लिङ नगरपालिकाका वडा नम्बर १, २, ३, ८ दोखु र ९ हाङ्देवा क्षेत्रमा फैलिने भएकाले यी क्षेत्रलाई मुख्य प्रभावित क्षेत्रका रूपमा लिइएको छ । स्थानीय बासिन्दाले आयोजना निर्माणसँगै रोजगारी, सडक पहुँच र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरेका छन् ।

सुरुमा १०१ मेगावाट क्षमतामा विकास गर्ने लक्ष्यसहित अघि बढाइएको यो आयोजना कम्पनी दर्ता प्रक्रिया मंसिर ०५६ मै सुरु भए पनि विभिन्न नीतिगत, प्रशासनिक र वित्तीय जटिलताका कारण करिब २६ वर्षपछि मात्रै निर्माण चरणमा पुगेको हो ।

१० जेठ ०८१ मा आयोजनाको शिलान्यास भएको थियो । ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार तमोर–मेवा जलविद्युत आयोजना सम्पन्न भएपछि यसले राष्ट्रिय प्रसारण प्रणालीमा उल्लेख्य विद्युत थप्ने मात्र होइन, पूर्वी नेपालमा औद्योगिक विकास, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ । लामो समयको प्रतीक्षापछि मूर्तरूप लिँदै गरेको यो आयोजना ताप्लेजुङको विकास इतिहासमा मात्र होइन, देशको ऊर्जा आत्मनिर्भरता यात्रामा पनि एउटा महत्वपूर्ण कोशेढुंगा बन्ने अपेक्षा सर्वसाधारणको छ ।
 

सुझावित समाचार