कञ्चनपुरको कृष्णपुरका ग्रामीण भेगका महिला जमिन भाडामा लिएर व्यावसायिक अन्नबाली तथा तरकारी खेती गरिरहेका छन् ।
कृष्णपुर नगरपालिका– ५, गुलरियाका स्थानीय चार महिलाले तीन बिघा जमिन भाडामा लिएर व्यावसायिक अन्नबाली तथा तरकारी खेती गरिरहेका हुन् । सीतादेवी चौधरी, इन्द्रावती राना, शला राना र रमा चौधरी दुई वर्षदेखि सामूहिक व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका हुन् । यसअघि उनीहरू आफ्नै घरमा परम्परागत रूपमा तरकारी एव अन्नबाली खेती गर्दै जीवन निर्वाह गर्दै आएका थिए । तर, अहिले अर्काको जमिन भाडामै लिएर कृषि व्यवसायमा जुटेका हुन् ।
चारै महिला किसानले कृष्ण माध्यमिक विद्यालयको जमिन वार्षिक डेढ लाख भाडा तिरेर तरकारी खेती गरिरहेको बताएका छन् ।
स्थानीय किसान महिला सीतादेवी चौधरीले आफूहरूसँग पर्याप्त जमिन नहुँदा अर्काको जमिन भाडामा लिएर तरकारी खेती गरिरहेको बताइन् । ‘कृषि व्यवसाय नै गर्न हामीसँग जमिन छैन, त्यही भएर समूहमार्फत जमिन सरकारले भाडामा लिएर हामीलाई जमिन उपलब्ध गराएको छ,’ उनले भनिन्, ‘यो हामीले पहिलोपटक अभ्यास गरिरहेका छौँ ।’
उनले धान, गहुँ, मटर, तोरीसँगै तरकारी खेती गरेर स्थानीय बजारमा बिक्री–वितरण गरेको बताइन् । उनले गत वर्ष साढे पाँच लाख रुपैयाँ आम्दानी गरेको र यस वर्ष बिक्री गर्न बाँकी रहेको बताइन् ।
अर्की स्थानीय किसान शर्मिला रानाले तालिम, सिपदेखिका कृषि उपचार, जमिन सरकारी संघसंस्थाबाट उपलब्ध गराएपछि व्यावसायिक तरकारी खेतीमा उन्मुख भएको बताइन् । ‘हामीलाई कृषि ज्ञान केन्द्रले पाँच वर्षका लागि जमिन भाडाबापतको रकम उपलब्ध गराएको छ,’ उनले भनिन्, ‘लिबर्ड संस्थाले तालिमदेखि उपकरण उपलब्ध गरायो, हामीलाई व्यावसायिक कृषिखेती गर्न सहज भएको छ ।’ सगरमाथा कृषक समूहकी अध्यक्ष इन्द्रावती रानाले व्यावसायिक खेती गर्नका लागि स्थानीय किमानलाई स्रोत साधन, सिप, तालिम प्रविधि उपलब्ध भएपछि व्यावसायिक कृषि खेती गर्न सहज भएको बताइन् ।
अर्की महिला किसान रमा चौधरीले प्रांगारिक मलको अभाव, उत्पादित वस्तुको सहजै बिक्री–वितरणमा समस्यादेखि फल्ने वेला रोग लाग्ने समस्या रहेको बताइन् ।
लिबर्डका कार्यक्रम अधिकृत नवीन पौडेलले स्थानीय किसानको खाद्य पोषण, आय सुधारमा सुधार, जलवायु परिवर्तन अनुकूलन र विपत् जोखिम व्यवस्थापन क्षमता सुधार कार्यक्रममार्फत प्रत्यक्ष स्थानीय किसानले लाभ लिएको बताए ।
लिबर्डका कार्यक्रम अधिकृत पौडेलका अनुसार कृष्णपुर नगर ग्रामीण भेगमा झन्डै चार वर्षदेखि सञ्चालन भएको सक्षम परियोजनाबाट एक हजार ५८४ घरपरिवार लाभान्वित भएका छन् । स्थानीय किसानको खाद्य पोषण, आय सुधारमा सुधार, जलवायु परिर्तन अनुकूलन र विपत् जोखिम व्यवस्थापन क्षमता सुधार कार्यक्रममार्फत प्रत्यक्ष जनताले लाभ लिएका छन् ।
लिबर्डका सामाजिक परीक्षक धीरेन्द्र सिनालले किसानहरू सामूहिक करार खेतीतर्फ उन्मुख भएको बताए । परामर्शदाता सिनालले स्थानीय किसानलाई आत्मनिर्भर बनाउन दिगोपनाका लागि स्थानीय सरकारले चासो दिनुपर्ने र गरेका कार्यक्रमको सुझाव संकलन गरेर आगामी दिनमा थप दीर्घकालीन कार्यक्रम ल्याउनसमेत सुझाव दिए ।
परियोजना संयोजक इन्देश्वर मण्डलले जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरेर किसानलाई आत्मनिर्भर बनाउनका कार्यक्रम सञ्चालन गरिएको बताए । उनले घर तथा विद्यालयमा रैथाने अन्नबाली, तरकारी, फलफूलखेतीका साथै व्यावसायिक रूपमा किसानलाई आत्मनिर्भर बनाउने काम गरेको बताए ।
संस्थाले किसानलाई सिकाएको सिपदेखिका उपकरण अब स्थानीय सरकारले स्वामित्व ग्रहण गर्दै सञ्चालनमा जोड दिए । संयोजक मण्डलले विपत् क्षेत्रमा नागरिकलाई वैकल्पिक बगरखेतीतर्फ समेत उन्मुख गराएको बताए । कृष्णपुर नगरपालिका कृषि शाखा प्रमुख लालबहादुर धामीले एकल महिला, भूमिहीन, सुकुम्बासी, मुक्त कमैया, हलियाहरूलाई आत्मनिर्भर बनाउन नगरका महिलालाई तालिम दिएको बताए ।
कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती रानाले लिबर्डले कार्यक्रम सञ्चालन गरेपछि नगरका महिला किसान पहिलेभन्दा अहिले आत्मनिर्भरतर्फ उन्मुख भएको बताइन् । उप्रमुख रानाले आयोजनाबाट प्राप्त उपलब्धिलाई निरन्तरता दिँदै आउँदाे वर्षको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरिन् । उपप्रमुख रानाले महिला किसानमुखी कार्यक्रम अझै सञ्चालनतर्फ समेत आग्रह गरेकी छिन् ।