प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपार समर्थनको कारणले सुरक्षाकर्मीहरूले मनोबल बढेको र सफलतापूर्वक काम गरिरहेको बताएका छन् । समाजमा शान्ति सुव्यवस्था कायम गर्न नागरिक–प्रहरीको सहकार्य अत्यन्त महत्त्वपूर्ण हुने उनको भनाइ छ।
काठमाडौं बसन्तपुरमा आइतबार आयोजित ‘हाम्रो प्रहरी’ कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा भदौ २३ र २४ गतेको ‘नवपुस्ताको आन्दोलन’पश्चातको सन्दर्भमा नेपाल प्रहरीले सञ्चालन गर्दै आइरहेको समदुाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनसुन्धान, नागरिक सुरक्षा, विपत् उद्धार, सामाजिक सदभाव तथा अमनचयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आमनागरिक र नयाँ पुस्तामा स्थापित गराउने अवधारणाअनुसार उक्त कार्यक्रम आयोजना भएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी सदभावना दूतहरूलाई ब्यानर प्रदान गर्नुका साथै प्रहरी कार्यालय पुनर्निर्माणमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मानसमेत गरे । साथै सामुदायिक सेवा केन्द्र महांकालको सहकार्यमा विभिन्न समाजसेवी, स्थानीय व्यवसायी तथा नागरिकको सहयोगमा प्राप्त एक थान टोयटा हाइस गाडी प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकासभक्त श्रेष्ठले संयुक्त रूपमा प्रहरी वृत्त जनसेवालाई हस्तान्तरण गरे।
समारोहमा प्रहरी महानिरीक्षक कार्कीले यो अभियान नेपाल प्रहरीको मात्र नभई नागरिक र प्रहरीको साझा प्रयास भएको उल्लेख गर्दै यस्ता प्रयासले मात्र सुरक्षित समाज सिर्जना गर्ने कार्यमा सफलता मिल्ने बताए । नागरिकको सौहार्दपूर्ण बोलीवचन र व्यवहारले बस्ती, टोल र गाउँहरूमा सेवारत रहनका लागि प्रहरीलाई थप प्रेरित गर्ने उनको भनाइ छ । विगतमा भएका कमी–कमजोरीहरूलाई सुधार गर्दै नागरिक र प्रहरीको सहकार्यमा प्रभावकारी कानुन कार्यान्वयन गरी कानुनी शासन स्थापना गर्ने कार्यमा प्रहरी सदैव क्रियाशील रहेको उनले बताए।
सो अवसरमा बागमती प्रदेशका पूर्वप्रदेश प्रमुख तथा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, काठमाडौं महानगरपालिका– १७ का वडा अध्यक्ष नवीन मानन्धर, वरिष्ठ कलाकार हरिवंश आचार्य, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, संगीतकार तथा गीतकार योगेश्वर अमात्य, कर्मयोग फाउन्डेसनका अध्यक्ष सौरभ रिमाल, अभियन्ता एवं युवा समाजसेवी गणपतिलाल श्रेष्ठ, सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकाशभक्त श्रेष्ठलगायतले कार्यक्रमको महत्त्व र प्रभावकारिताबारे आ–आफ्नो मन्तव्य राखेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त राखेको उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका–२३ का वडा अध्यक्ष मचाकाजी महर्जनले समापन मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालयबाट ब्यान्ड डिस्प्ले, जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गर्नुका साथै कुमा सागर एन्ड द ख्वप ब्यान्डले सांगीतिक प्रस्तुतिसमेत गरेको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।